रामेछाप । मन्थली बजारमा रहेका विभिन्न ३५ वटा पसल व्यवसायलाई २ लाख २८ हजार रूपैयाँ जरीवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको नेतृत्वमा खटिएको अनुगमन टोलीले कानुन बिपरित सञ्चालनमा रहेका तथा म्याद नाघेका अखाद्य बस्तुको बेचबिखन गर्ने ३५ पसल तथा व्यवसायीलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा उक्त पसल ब्यवसायबाट ७२ हजार ५ सय ४२ रूपैयाँ बराबरको म्याद नाघेका तथा अखाद्य बस्तु बरामद गरि नष्ट समेत गरिएको छ । अनुगमन टोलीका संयोजक तथा सहायक प्रजिअ घिमिरेका अनुसार बजारमा अनुगमन टोली तीन सेक्टरमा बिभाजित भएर बजार अनुगमन गरिएको थियो ।
जसमा ११ वटा हार्डवेयर पसल, १५ वटा खाद्यान्न पसल र ९ वटा कस्मेटिक्स पसलको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा ११ वटा हार्डवयर पसलबाट २९ हजार ५ सय, खाद्यान्न पसलबाट ९ हजार तीन सय ६० र कस्मेटिक्स पसलबाट ३३ हजार ६ सय ७० मूल्य बराबरको म्याद नाघेका तथा अखाद्य बस्तु फेला परेको छ । फेला परेका अखाद्य बस्तुलाइ बरामदपछि सरोकारवालाको रोहबरमा नष्ट गरिएको सहायक प्रजिअ घिमिरेले बताए ।
प्रयोजन विपरित सञ्चालनमा रहेका तथा म्याद गुज्रिएको बस्तुको बेचबिखन गर्ने १५ खाद्यान्न पसलबाट २३ हजार रूपैया, ९ वटा कस्मेटिक्स पसलबाट ९० हजार र १५ हजारका दरले ११ वटा, हार्डवेयर पसलबाट १ लाख ४५ हजार रूपैया जरीवाना रकम असुल गरिएको छ । अनुगमन टोलीले गृह मन्त्रालयको परिपत्रका आधारमा बजारको अनुगमन गरेको हो ।
यसअघि पनि अनुगमन टोलीका संयोजक तथा सहायक प्रजिअ घिमिरेले रामेछापका तीन वटा डेरी सञ्चालकलाई कारबाही गरेको थियो भने लक्ष्मी आयल स्टोर्सलाइ तोकिएको भन्दा बढी मुल्य लिएको र बिल बिजक राम्रो नराखेको भन्दै २ लाख रूपैया जरीवाना गरेको थियो ।