रामेछाप:मन्थली नगरपालिका ९ पुराना गाउँ वडा कार्यालयको सरकारी मोटरसाइकल दुरुपयोगको विषयमा अख्तियार उजुरी परेको छ । सरकारी प्रयोजनका लागी वडा अध्यक्ष गोकर्णराज आरनलाई प्रदान गरिएको बा २ प ९७२१ नम्बरको मोटरसाइकल अध्यक्षका छोरा गौतमराज आरनले व्यक्तिगत प्रयोजनका लागी प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेपछि गौतमले मोटरसाइकल मन्थली नगरपालिकामा बुझाई सकेका छन् । गौतमले आफ्ना बुबाको लागी आएको मोटर साइकलको दुरुपयोग गरी व्यक्तिगत लाभका लागी प्रयोग गर्ने गरेको उजुरीमा उल्लेख छ।
मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीका अनुसार गौतमले दुरुपयोग गरेको मोटरसाईलक एक हप्ता अघि नै नगरपालिकामा बुझाई सकेका छन् । नगरपालिकाले छानबिन गर्दा समेत उक्त मोटरसाइकल दुरुपयोग नै भएको पाइएको थियो । वडा अध्यक्ष आरनले व्यक्तिगत रिसीईवी साँध्न उजुरीकर्ताले उजुरी दिएको प्रतिक्रिया दिए ।
आफू स्वयमले व्यक्तिगत रूपमा सवारीसाधन चलाउन नजान्ने भएपछि छोरामार्फत वडा कार्यालय तथा जिल्ला सदरमुकाम आवतजावत गर्ने गरेको उनले बताए । यस बाहेक वडा सचिवलाई समेत आवश्यकताका आधारमा ओसार्ने गरेको उनको भनाई छ । अध्यक्ष आरनले मोटर साइकलको इन्धन खर्च बापत हालसम्म वडा कार्यालयबाट ३३ हजार ४७ रुपौया र पटक पटक गरी मर्मत खर्च शीर्षकमा ४५ हजार ३ सय ८५ रुपौया भुक्तानी लिई सकेका छन् ।
मोटरसाइकल दुरुपयोगको विषयमा छानबिन गरेर जिल्ला प्रशासन कार्यालय रामेछापले नगरपालिकालाई पत्राचार गरेको छ । आगामी दिनमा सरकारी सवारीसाधनको दुरुपयोग हुन नदिने गरी सचेत गराएको पत्र सहित नगरपालिलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले जनाकारी दिए ।