ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ९ ज्यामिरेकी ललिता गुरुङ २०७९ मा स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य हुन । उनले निर्वाचित भएको झन्डै ३ महिना पछि पहिलो पटक कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाईन । जिम्मेवारी पाएको केहि दिनमा स्थानीय एक महिला सेवाग्राही छोरीलाई विदेश पठाउनको लागि आफ्नो परिवारको नाता प्रमाणितको सिफारिस बनाउन वडा कार्यालय आईपुगिन । वडामा अध्यक्ष नभएर अध्यक्षकै जिम्मेवारी पाएको वडा सदस्यलाई देखेपछि उनलाई चिन्ता लाग्यो ।
सायद अब मेरो काम बन्दैन, बने पनि पछि काजगातमा कुनै त्रुटी देखिने हो की ? भन्ने उनलाई लाग्यो र कार्यवाहक अध्यक्ष गुरुङलाई सचेत गराउँदै भनिन, “हस्ताक्षर चैँ सबैतिर एकैखाले गर्नुस है फरक फरक भयो भने पछि समस्या आउँछ” उनले भनिन् “फेरी यो विदेश जानको लागि हो अंग्रेजीमा गर्नुस”।
सेवाग्राहीको कुरा सुनेपछि गुरुङले मुस्कुराउँदै भनिन,“तपाई चिन्ता नलिनुस, अंग्रेजी भनेनी नेपाली भनेनी मेरो एउटै हस्ताक्षर हुन्छ र हस्ताक्षर गर्नुपर्ने सबै ठाउँमा एकैखाले हुन्छ, कतै फरक पर्दैन र तपाईँले फेरी यहिँ कामको लागि दुःख पाउनु पर्दैन ।” पछि ति महिला सेवाग्राहीको काम पनि सफल भयो । उनले हस्ताक्षर गरेकै कागजातबाट सेवाग्राहीको छोरी विदेश गईन् । फेरी उनले त्यहीँ कामका लागि दुख पाउनु परेन ।
ललिताले विगत स्मरण गर्दै सुनाईन “कार्यालयमा बस्दा ओहो ! नयाँ अध्यक्ष ज्यू, नमस्कार भन्दै स्थानीय आउँछन, जसले मलाई एकखालको उर्जा दिन्छ र त्यो पल मेरा लागि निकै सुखद हुन्छ ।” “अधिकांश सेवाग्राही चाहिँ वडा अध्यक्ष नहुँदा काम विग्रिने होकी वा नहुने होकी भन्दै सुरुमा चिन्ता लिने गर्छन तर पछि काम सफल भएसी ढुक्क भएर जाने गर्छन” उनले भनिन् । कार्यवाहक अध्यक्ष भएपछि कतिपय सानातिना कार्यक्रममा पनि आफुलाई प्रमुख अतिथीको रुपमा बोलाउने गरेको उनले बताईन ।
उनिजस्तै कार्यवाहक अध्यक्ष बनेकी अर्की वडा सदस्य हुन मोलुङ गाउँपालिका १ की निरा तामाङ । गत असोजमा उनले पहिलो पटक कार्यवाहक अध्यक्ष हुने अवशर पाईन । त्यसयता उनले हालसम्म ५ पटक कार्यवाहक वडा अध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन ।
घरायसी कामकाज संगै परिवारको जिम्मेवारी समेत पुरा गर्दै पदिय जिम्मेवारी सम्हाल्न त्यती सहज पक्कै थिएन । त्यसै दौरान एकदिन आमा समुहको बैठक भएकोले वडा कार्यालय जान अलि ढिलो भैसकेको थियो ।
एकजना पुरुष सेवाग्राहीले फोन गरे र सोधे,“तपाईँ कहाँ हो”? जवाफमा उनले भनिन् “हजुर म घरमा छु, तपाईँ को बोल्नुभयो होला”? । फेरी उताबाट जवाफ आयो “म जो भएपनि तपाईँलाई जिम्मेवारी दिएपछि वडा कार्यालयमा आएर कार्यालय चलाउने हो की घरमा बसेर चलाउने हो ? ।” “हजुर वडामै बसेर चलाउने हो भाई, भाई पर्नुहुन्छ की दाई ?” उनले भनिन ।
फेरी ति पुरुषले भने तपाईँको काम के हो ? तपाई यसबेलासम्म घरमा बस्ने हो ? यसबेलासम्म वडा कार्यालय आउनुपर्दैन”? । ति सेवाग्राहीको चर्को बोली सुनेर उनले नम्र हुँदै भनिन् “आज अलि यस्तो काम परेर हो, अब केही समयमै आएर तपाईँलाई सेवा दिन्छु”। त्यसपछि उनि चाँडो चाँडो कार्यालय गईन ।
ति टेलिफोन गर्ने सेवाग्राही टाढाको नभएर गाउँकै चिनजानको भाई थिए । “आफ्नै गाउँको भाईले केहि समय ढिला हुँदा त्यस्तो थर्काएर फोन गर्दा अलि नमज्जा लाग्यो” उनले भनिन् । “सायद महिला भएकोले पनि अलि हेपाहा शैलीमा बोलेको, थर्काएको हो कि जस्तो लाग्यो, यदि मेरै ठाउँमा वडा अध्यक्ष भएको भए सायद त्यस्तो बोल्नुहुन्थेन होला उहाँले” उनले थपिन । “समयमै सेवा दिँदा सेवाग्राही खुसी हुन्छन तर केहि समय ढिलो भयो भने आक्रोशित बन्छन, सहनै पर्छ” उनले भनिन् ।
कार्यवाहक वडा अध्यक्ष हुँदा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र स्थानीयले पनि हौसला र सकारात्मक प्रतिक्रिया दिने गरेको उनले बताईन ।
यता सुनकोशी गाउँपालिका १ की भिममायाँ बिक पनि वडा सदस्य हुन । उनले पनि हालसम्म ४ पटक वडा अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन । यो अवधीमा उनले विभिन्न योजनाको सिफारिसमा हस्ताक्षर गरिन । त्यस्तै २ वडा नागरिकता र १ वटा राष्ट्रिय परिचय पत्रको सिफारिसमा समेत उनले हस्ताक्षर गरिसकेकी छन ।
सुरुमा उनलाई कार्यवाहक वडा अध्यक्षको चिठी छ हस्ताक्षर गर भन्दै वडा सचिवले भने । सचिवको विश्वासकै आधारमा उनले चिठी बिना नै कुनै योजनाको सिफारिसमा हस्ताक्षर गरिन । त्यसपछि पुन भोलीपल्ट नाबालक परिचय पत्रको सिफारिसका लागि सेवाग्राही आए ।
त्यसमा पनि उनले नै हस्ताक्षर गर्नुपर्ने थियो । तर आफुलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिईएको ठोस प्रमाण नै नभएपछि उनलाई हस्ताक्षर गर्न निकै असहज लाग्यो । र उनले आफुलाई जिम्मेवारी दिएको चिठी बिना हस्ताक्षर नगर्ने बताईन ।
त्यसपश्चात वडा अध्यक्षले फेसबुक म्यासेन्जरमा आफुलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको चिठीको तस्बीर पठाएपछि भने आफुले ढुक्क भएर जिम्मेवारी सम्हालेको उनले बताईन ।
“सुरु सुरुमा वडा अध्यक्षको स्थानमा म पनि पुग्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो”,उनले भनिन, तर जिम्मेवारी पाएपछि उक्त कार्यका लागि योग्य भैसकेको रहेछु र मैले अवशर पाए भनेर आफैमाथी गर्व लाग्छ ।” थप नीति नियम, कार्यक्षेत्र र जिम्मेवारी बारे अझ प्रष्ट हुन पाए आफुले वडा अध्यक्षकै जिम्मेवारी सम्हाल्न सक्छु भन्ने लागेको उनको भनाई छ ।
कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाएपछि आफु कुनै विशेष कारण वडा कार्यालय जान ढिलो हुँदा सेवाग्राही बाटोमै लिन आएको समेत उनले स्मरण गरिन ।
यहाँ हामीले कार्यवाहक वडा अध्यक्ष भएका केही प्रतिनिधी पात्रको मात्र अनुभव र भोगाईको चर्चा गरेका छौँ । उनिहरुले जस्तै जिल्लामा अरु थुप्रै महिला वडा सदस्यहरुले पनि कार्यवाहक वडा अध्यक्ष भएर जिम्मेवारी बहन गरिसकेका छन । अधिकांशको भोगाई उस्तै उस्तै छ ।
धेरैले आफुमा भएको नेतृत्व विकासले यो अवशर पाएको बताएका छन । विभिन्न चरणको क्षमता विकासको तालिम, प्रशिक्षण र कार्यक्रममा हुने सहभागिताले आफुहरुलाई थप सक्षम बनाएको उनिहरुको भनाई छ ।
विशेष गरी दलित महिला केन्द्र नेपालको शि–लिड्स परियोजना आफुहरुको लागि बरदान नै सावित वडा सदस्य गुरुङले बताईन । परियोजनाकै तालिमले नेतृत्वलाई थप बलियो बनाउँछु र अवशर पाए वडा अध्यक्षकै पद पनि सम्हालन सक्छु भन्ने हिम्मत आएको उनको भनाई छ ।
जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीले पनि शि–लिड्स परियोजनाको प्रशंसा गर्ने गरेका छन । स्थानीय सरकारले महिला वडा सदस्यको क्षमता विकासका लागि दिईनुपर्ने विभिन्न तालिमहरु दलित महिला केन्द्रले दिएर आफ्नो दायित्व पुरा गरेको उनिहरुको तर्क छ ।
यस्ता खाले तालिमहरु जिल्लाका सबै स्थानीय तहका महिला वडा सदस्यहरुलाई आवश्यक रहेकाले परियोजनाले आफ्नो कार्यक्षेत्र र समय बढाउनु पर्ने उनिहरुले माग गर्दै आएका छन ।