ओखलढुंगा । कोशी प्रदेश सरकारले कृषी उद्यमीलाई कृषि कर्जामा ब्याज अनुदान दिने भएपछि त्यसको बारेमा जिल्लाका सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ । आज (बुधबार) कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाको सयुक्त आयोजनामा कृषि कर्जामा व्याज अनुदान परिचालन सम्बन्धी छलफल कार्यक्रममा कृषि उद्यमी तथा लाभग्राही को को?के–के र कसरी हुने भन्ने बारेमा सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेश उद्योग कृषी तथा सहकारी मन्त्रालय विराटनगरका कृषी परामर्शदाता नविन अधिकारीले ‘कोशी प्रदेश कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि २०८१ बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कृषि कर्जामा व्याज अनुदान कार्यन्वयनका लागि सरकारी तीन वटा बैंक नेपाल वैंक, कृषि विकास बैंक, राष्टिय बाणिज्य बैंक सहित आठ वटा बैंक, चार वटा वित्तिय संस्था र १७ वटा सहकारी संस्थाबाट कृषि उद्यमी तथा लाभग्राहीलाई ऋण सेवा प्रवाह गर्ने सम्झौता भएको बताए ।
व्यवसायको सम्भावना र चुनौती हेरेर प्रदेश सरकार कृषि मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रले गरेको सिफारिसको आधारमा बैंकले कर्जा लगानी गर्ने उनको भनाई थियो । कर्जामा ब्याज अनुदान लिनका लागि कार्यविधी आउनुभन्दा अगाडी (फागुन २४ गते) कृषिसँग सम्बन्धित दर्ता भएका कृषि फर्महरूले प्रस्ताव पेश गर्न पाउनेछन । यसभन्दा अगाडि मन्त्रालयको अनुदान लिएका कृषि फर्महरूको हकमा भने नपाईने उनले बताए ।
कार्यक्रममै कोशी प्रदेश उद्योग कृषी तथा सहकारी मन्त्रालय विराटनगरका बैंकिङ तथा वित्तिय विशेषज्ञ प्रकाश पोखरेलले कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवद्र्धन गर्न भन्दै प्रदेश सरकारले कार्यविधि ल्याएको बताए । चालु आर्थिक वर्षमै कृषी कर्जामा ब्याज अनुदान दिनका लागि प्रदेश सरकारले बजेटको समेत ब्यवस्था गरिसकेको हुँदा असार अगावै कृषी कर्जा लगानी गर्न उनले जिल्ला स्थित सम्झौता भएका बैंँक तथा वित्तिय संस्थाका प्रतिनिधीलाई आग्रह समेत गरे ।
कार्यक्रममा कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँले प्रदेश सरकारको कार्यविधिमा ब्याज अनुदान प्रदान गर्न कर्जा, सहजीकरण डेस्क स्थापना गर्नेदेखि अनुगमनका लागि छुट्टै समिति निर्माण गर्नेसम्मका व्यवस्था रहेकाले सोही अनुसार कार्यान्वयन हुने भएकाले सरोकारवालाहरुलाई जानकारी गराएको बताए । कार्यक्रममा सहभागीहरुले कृषी कर्जामा ब्याज अनुदान कार्यक्रम प्रदेश सरकारको निकै महत्वपुर्ण कार्यक्रम भएको भन्दै प्रंशसा गरेका थिए । कार्यक्रम लागु गर्न सम्बन्धित निकाय संग प्रशस्त जनशक्ती, श्रोत र साधन पनि हुन आवश्यक रहेको उनिहरुको भनाई थियो । वास्तविक लाभग्राहीले लाभ लिन सके मात्रै त्यसको अर्थ रहने भएकाले यो कार्यक्रम प्रभावकारी बनाउन सबैको भुमिका अनिवार्य रहेको उनिहरुले बताए ।
कार्यक्रमलाई जिल्ला समन्वय समिती प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका उप प्रमुख केदारबाबु बस्नेत, चिसंखुगढी गाउँपालिकाका उप प्रमुख शन्तोषबाबु थापालगायलते सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला स्थित कृषी कर्जाको लागि सम्झौता भएका बैंकका प्रतिनिधी, कृषी उद्यमी, विभिन्न स्थानीय तहका कृषी प्राविधिक, पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।