ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेलका स्थानीय बलराम गौतम संग यसै ठाउँमा १० रोपनी जग्गा थियो । ३ वर्ष अघि ८ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरे । त्यसबेला निशुल्क रुपमा जग्गा प्रदान गर्ने कुरा उनका छोराहरुलाई चित्त बुझेको थिएन ।
तर आफ्नै गाउँमा प्रदेश स्तरको सुविधा सम्पन्न अस्पताल बन्ने कुराले हर्षित भएका उनले खुसीसाथ जग्गा प्रदान गरे । तर जग्गा दिएको यतिका समय बितिसक्दा समेत अस्पताल निर्माणको कामले गति लिन नसक्दा उनि निराश छन । “अस्पताल पनि बन्दैन, जग्गा जग्गा गयो सरकारमा गयो भन्छन अब हामीले के खानु एउटा घर मात्रै बाँकी छ ”उनले भने । सुविधाका लागि जग्गा दिएको तर हालसमम केहि सुविधा नपाएको उनको गुनासो छ ।
यस्तै अवस्थाको मनोभाव अर्की जग्गादाता डम्बरकुमारी गौतमको पनि छ । परिवारका अन्य सदस्य सहित झन्डै १५ रोपनी जग्गा उनिहरुले अस्पताल निर्माणको लागि प्रदान गरेका छन । आफ्नै गाउँको विकास हुने कुराले ढुक्क भएकी उनलाई अस्ताल निर्माणका लागि बजेट नै आएको छैन भन्दा चिन्ताले सताउन थालेको छ ।
“धेरै धेरै जग्गा देको छ अस्पताल आएन दुख लाग्यो हामीलाई त” उनले भनिन । अस्पताल निर्माणका लागि कुनै पनि निकायले त्यति पहल नगरेको उनको भनाई छ । अहिले थोरै बजेटबाट जग्गा सम्याउने काम मात्रै भएको र अस्पताल बन्छ कि ? बन्दैन भन्ने चिन्ता आफुहरुलाई लागेको उनले बताईन ।
उनिहरु जस्तै टोक्सेलका झन्डै २० घरपरिवारले १ सय ६६ रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेका छन । एक परिवारले कम्तीमा १ रोपनी देखी ३५ रोपनीसम्म जग्गा अस्पताल निर्माणका लागि प्रदान गरेका थिए । तर जग्गा प्रदान गरिएको लामो समय बिते पनि अस्पताल निर्माणको लागि पर्याप्त बजेट नआउँदा जग्गा सम्म्याउने बाहेक अन्य काम हुन सकेको छैन ।
सुरुमा ५० शैयादेखि सञ्चालन गर्ने गरी अस्पताल निर्माण गरिने योजनामा छ । निर्माण सम्पन्न हुँदा २ अर्ब भन्दा बढी लागत अनुमान डीपीआरमा गरिएको छ । अस्पताल निर्माणका लागि बहुवर्षिय योजना बनाई रकम बिनियोजन गरिने भनिएको थियो । तर हालसम्म प्रदेशबाट जम्मा ४५ लाख मात्रै बजेट आएको र त्यो पनि जग्गा सम्याउनमै खर्च भैसकेको छ ।
यस आर्थिक वर्षमा भने एक पैसा पनि अस्पताल निर्माणका लागि प्रदेश सरकारबाट बिनियोजन नभएको मानेभञ्ज्याङ गाउँपालिका ७ का वडा अध्यक्ष विष्णुप्रसाद गौतमले बताए । अस्पताल निर्माणका लागि भनेर संघ तथा प्रदेशका माननिय र सम्बन्धित निकायमा पहल गर्ने काम भने जारी रहेको उनको भनाई छ ।
शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतको विकासमा पछि परेको यस गाउँको मुहार अस्पताल निर्माणले फेरिने आशामा थिए स्थानीय । तर सम्बन्धित निकाय यसतर्फ गम्भीर नबन्दा उनिहरुको आशा अब निराशामा परिणत हुँदै गएको छ ।