ओखलढुंगा । काठमाडौबाट सोलुखुम्बुका लागि छुटेको यात्रुबाहक बस ओखलढुंगामा दुर्घटना भएको छ । आज (बुधबार) दिउँसो करिब १ बजेतिर जिल्लाको सिद्धीचरण नगरपालिका ८ जरंगे (सेतिदेवी मन्दिर आसपास) मा बा प्र -०१-००६ ख ५५८१ नम्बरको बस दुर्घटना भएको हो ।
सडकमा गुडिरहेको बेला आफै अनियन्त्रित भइ सडकबाट करिब ५ मिटर तल मकै बारीमा झर्दा ४ जना घाइते भएका छन । घाइते हुनेहरुमा जिल्लाको चम्पादेवी गाउँपालिका ३ कि ५० वर्षिया कुमारीमाया बुढाथोकी, सह-चालकद्वय मानेभञ्ज्याङ ३ उबुका २५ बर्षिय बिनोद अधिकारी, सिद्धिचरण नगरपालिका ८ लगलगेका २८ बर्षिय रोशन गिरी र सुनकोशी १ बलखुका ४२ वर्षिय शहदेव गिरी रहेका छन ।
उनिहरुको तत्काल उद्वार गरि उपचारका लागि सिनपा ११ स्थित मेडिका पोलिक्लिनिकमा पठाइएको छ । घाइतेहरूको टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक हाल फरार रहेका छन ।
दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।