ओखलढुंगा । पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले मुलुकका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेको छ। तर, सिजनअनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन्। कुहिने, बिग्रिने र बजार नपाउने समस्याले कृषकहरूलाई निरन्तर चिन्तामा राखेको छ। तर अब सोलुखुम्बुका केही स्थानमा यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ। सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा कोल्ड चेम्बर निर्माण गरिएसँगै व्यवसायिक उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्न सकिने भएको हो।
सोलुदुधकुण्ड नगरपालिका–७ का कृषक जाङबु शेर्पा विगत ८ वर्षदेखि व्यवसायिक किबी खेती गर्दै आएका छन्। ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको उनको फार्मबाट हरेक वर्ष १२ देखि १४ टनसम्म किबी उत्पादन हुँदै आएको छ। तर, समयमा बिक्री नहुँदा उत्पादन कुहिएर नष्ट हुने गरेको थियो। सुरक्षित संरचना अभावमा उनले किबी प्रतिकिलो ५० रुपैयाँमै बेच्नुपर्ने बाध्यता थियो। तर, अब अवस्था बदलिएको छ। सरकारी अनुदानसहित लागत साझेदारीमा निर्माण गरिएको १० टन क्षमताको कोल्ड चेम्बरले उनको व्यवसायमा नयाँ सम्भावना थपेको छ। “पहिले किबी बिक्री नभएर कुहिने गर्थ्यो, धेरै घाटा थियो। अहिले कोल्ड चेम्बर बनेपछि भण्डारण गर्न सजिलो भएको छ, उचित मूल्यमा बिक्री गर्न सकिने आशा बढेको छ,” किसान शेर्पाले बताए।
यस्तै, सोलुदुधकुण्ड नगरपालिका–८, पत्तालेको स्याउ बगानमा पनि गत वर्ष मात्रै १८ टन स्याउ उत्पादन भएको थियो। तर, बजार व्यवस्थापन र सुरक्षित भण्डारणको अभावमा स्याउ चुम्रिने, रस सुक्ने, तौल घट्ने र स्वाद बिग्रिने समस्या देखिएको थियो। उत्पादन राम्रो भए पनि मूल्य नपाउँदा फार्म सञ्चालकहरूले लगानीअनुसारको लाभ लिन सकेका थिएनन्। तर, कोल्ड चेम्बर निर्माणसँगै व्यवसायमा भरोसा बढेको उनीहरूको भनाइ छ। “स्याउ उत्पादन त राम्रो हुन्छ तर भण्डारणको समस्या हुन्थ्यो। अब कोल्ड चेम्बर भएकाले बजार नपाएर सड्ने डर छैन, व्यवसायप्रति भरोसा बढेको छ,” एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम प्रालि, पत्ताले सोलुखुम्बुका सदस्य कर्मा शेर्पाले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, चालु आर्थिक वर्षमै सोलुखुम्बुका विभिन्न स्थानहरूमा ४ देखि १० टन क्षमताका ५ वटा कोल्ड चेम्बर निर्माण गरिएका छन्। फलफुलको व्यवसायिक उत्पादनलाई सुरक्षित राख्न तथा सिजनअनुसारको बजार अभावका कारण हुने हानि–नोक्सानी न्यूनीकरणमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।“फलफुलको सुरक्षित भण्डारणका लागि कोल्ड चेम्बर महत्वपूर्ण पूर्वाधार हो। यसले कृषकलाई सिजनअनुसारको घाटाबाट जोगाएर दीर्घकालीन समाधान दिन सक्छ,” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई ओखलढुंगाका कृषि प्राविधिक लिलाकुमार श्रेष्ठले बताए।
सिजनअनुसार उत्पादन हुने तर बजार व्यवस्थापन र सुरक्षित भण्डारणको अभावमा हरेक वर्ष कृषकहरूले घाटा बेहोर्नुपर्ने बाध्यता छ। तर, कोल्ड चेम्बरजस्ता पूर्वाधार विस्तारसँगै अब कृषकहरू आफ्नो उत्पादन सुरक्षित राख्दै, उचित समय र मूल्यमा बिक्री गर्ने आशामा छन्। दीर्घकालीन समाधानका रूपमा अगाडि बढाइएका यस्ता संरचनाले सोलुखुम्बुमा मात्र होइन, देशभर नै फलफुलको व्यवसायिक उत्पादनमा थप सम्भावना र भरोसा दिने संकेत देखिएको छ।