ओखलढुंगा । बहुबिवाह र चोरी तथा डाका कसुरमा फरार रहेका दुई प्रतिवादिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।
पहिलो प्रतिवादी सोमबहादुर आले मगरलाई विवाह सम्बन्धी मुद्दामा २०८२ बैशाख २५ गते जिल्ला अदालतले ३ वर्ष कैद र रु ३० हजार जरिवानाको सजाय तोकेको थियो । उनी लामो समयदेखि फरार रहेका थिए ।
त्यस्तै, चोरी तथा डाँका मुद्दामा संलग्न रहेको ठहर भएका अर्का बालक प्रतिवादी (परिवर्तित नाम ‘एच’) लाई २०८१ चैत १४ गते अदालतले ५ महिना १३ दिन कैद र रु १५ हजार जरिवानाको सजाय सुनाएको थियो ।
दुवै जनालाई आज (मंगलबार) पक्राउ गरी अदालतको आदेशअनुसार सजाय कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।


