• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । राष्ट्रिय सूचना दिवस २०८२ को अवसरमा आज (मंगलबार) जिल्लाका सञ्चारकर्मी र जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीबीच अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा सूचना आदान–प्रदानलाई सुदृढ गर्दै पारदर्शिता र प्रभावकारिता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सूचना अधिकारीहरूलाई सूचना सहज, छिटो र नागरिकमैत्री ढंगले उपलब्ध गराउन निर्देशन दिए । सार्वजनिक गरिनुपर्ने सूचना आम नागरिकको अधिकार भएको भन्दै नागरिकले माग्दा मात्र नभई स्वप्रेरित भएर पनि आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने बताए । उनले प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिँदै प्रत्येक सरकारी कार्यालयले आफ्नो आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल पेज र डिजिटल प्लेटफर्ममार्फत नियमित सूचना सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याएका थिए । यसले नागरिकलाई सहज हुने मात्र नभई सञ्चारकर्मीलाई तथ्यपूर्ण समाचार तयार गरी सम्प्रेषण गर्न मद्दत मिल्ने सुवेदीको भनाइ थियो ।

सूचना ऐनको प्रभावकारी कार्यान्वयन, सरकारी निकायले प्रकाशित गर्ने सूचना बोर्डको अपडेट, बजेट र योजनाबारे नागरिकलाई समयमै जानकारी दिने विषयमा पनि थप गम्भीर हुन उनले सूचना अधिकारीहरूलाई आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कार्यालयहरूमा सूचना माग्दा विभिन्न कठिनाइ हुने गुनासो गरे । कतिपय कार्यालयले ढिलासुस्ती गर्ने, केहीले आधा–अधुरा मात्र उपलब्ध गराउने र कहिलेकाहीँ कार्यालय प्रमुख नभएकोजस्ता कारण देखाएर जानकारी नदिने गरेको उनीहरूको अनुभव थियो ।

यस्तो प्रवृत्तिले पारदर्शितामा प्रश्न उठ्ने, आम नागरिकले पाउनुपर्ने सूचनाको हकबाट वञ्चित हुनुपर्ने भएकाले सूचना अधिकारीहरूले अझ जिम्मेवार ढंगले काम गर्नुपर्ने उनीहरूको सुझाव थियो । यता सूचना अधिकारीहरूले भने आफूहरू सूचना प्रवाहलाई सहज बनाउन प्रतिबद्ध रहेको बताए । आगामी दिनमा आवश्यक स्रोतसाधन र उपलब्ध प्रविधिको उच्चतम सदुपयोग गर्दै सूचना प्रणालीलाई दुरुस्त बनाउन अभ्यास गरिने बताएका थिए । सूचना दिवसकै अवसरमा सम्पन्न यस अन्तरक्रियाले नागरिक र राज्य निकायबीच सूचनाको पुल अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!