• २०८२, १४ चैत्र शनिबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–९ गहतेमा आगलागी हुँदा एक घरसहित ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आज (शनिबार) दिउँसो करिब १ः३० बजेतिर स्थानीय पहलमान श्रेष्ठको घरमा अचानक आगलागी भएको थियो।

घटनाबारे जानकारी दिउँसो २ः२० बजे प्रहरीमा पुगेपछि प्रहरी निरीक्षक ईश्वर अधिकारीको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर ओखलढुंगाबाट सशस्त्र प्रहरी निरीक्षक कमल खड्काको नेतृत्वमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी दिउँसो करिब ४ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। ढुङ्गा–माटोको गारो र जस्ताको छानो भएको तीनतले घरसँगै जोडिएको पालिबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीका कारण घर र पाली पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट पालिमा बाँधिएको एक वटा पाडो र खोरमा रहेका सात वटा कुखुरा मरेका छन्। साथै घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, भाडाकुँडा, अन्नपात तथा अन्य सामग्री समेत जलेर नष्ट हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!