ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सम्बन्धी पलिका स्तरिय अर्धवार्षिक लेखाजोखा तथा वार्षिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा (आज) मंगलबार सिद्धिचरण नगरपालिकाका उपप्रमुख तथा कार्यक्रम संयोजक केदारबाबु बस्नेतको अध्यक्षतामा तथा नगर प्रमुख तेजेन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यशालामा उक्त प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत सिद्धिचरण नगरपालिकामा अर्धवार्षिक अवधिमा भएका गतिविधि, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरिएको थियो। कार्यक्रममा सिद्धिचरण नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सरिता तामाङले गत साउन देखि हालसम्म कार्यक्रमअन्तर्गत सञ्चालन भएका अपाङ्गता रोकथाम, प्रारम्भिक पहिचान, पुनर्स्थापना तथा समुदायस्तरीय सचेतनामूलक गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो।
सहभागीहरूले हालसम्म सञ्चालन भएका कार्यक्रमहरू उपलब्धिमूलक रहेको बताएका छन्। कार्यक्रमको उद्देश्य समुदायमै पुगेर अपाङ्गता हुनबाट रोकथाम गर्ने, प्रारम्भिक अवस्थामै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउने तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक रूपमा समावेश गराउने रहेको जनाइएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले अपाङ्गता क्षेत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, उपप्रमुख बस्नेतले हालसम्म सकारात्मक अभ्यास भए पनि गैरसरकारी संस्थाहरूको सहयोग घट्दै जाँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको उल्लेख गर्नुभयो।
अर्धवार्षिक लेखाजोखासँगै आगामी वर्षका लागि योजना तर्जुमा गरिएको उक्त कार्यशालाले सिद्धिचरण नगरपालिकामा कार्यक्रमलाई अझ प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्ने आधार तयार गरेको निष्कर्ष निकालिएको छ। सिद्धिचरण नगरपालिकामा उक्त कार्यक्रम करुणा फाउन्डेसन र सिबिआइबिको संयुक्त सहकार्यमा संचालन भैरहेको छ ।
यस कार्यक्रममार्फत गर्भावस्था तथा सुत्केरी अवस्थादेखि नै स्वास्थ्य सचेतना अभिवृद्धि, खोप, पोषण र सुरक्षित प्रसूति प्रवर्द्धनमार्फत अपाङ्गता रोकथामका प्रयास गरिनुका साथै बालबालिकामा अपाङ्गताको प्रारम्भिक संकेत पहिचान गरी समुदायमै नियमित स्क्रिनिङ गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक उपचार, थेरापी तथा सहायक सामग्री उपलब्ध गराउने र समुदायमै आधारित पुनर्स्थापना सेवा सञ्चालन गरिँदै आएको छ। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सामाजिक जीवनमा समावेश गराउँदै अधिकार सुनिश्चित गर्ने तथा विभेद न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।
साथै, स्थानीय तह, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको क्षमता विकासमार्फत कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्ने पहलसमेत गरिएको छ।


