ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड १२ लाख ४५ हजार ४२४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आज (बुधबार) सम्पन्न नगरसभाको १८औँ अधिवेशनमा उपप्रमुख केदारबाबु बस्नेतले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन। उपप्रमुख बस्नेतका अनुसार बजेट कार्यान्वयनका लागि नगरपालिकाको आन्तरिक आय २ करोड,भूमि प्रशासन कार्यालय मार्फत घरजग्गा रजिस्ट्रेसन दस्तुर बाँडफाँटबाट ५० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड मार्फत ९ करोड ९७ लाख ५९ हजार, प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँड मार्फत ९७ लाख ५८ हजार २७२ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७५ लाख, समपूरक अनुदान ४० लाख,विशेष अनुदान ८६ लाख र शसर्त अनुदान (चालु तर्फ) ३६ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९६ लाख ९८ हजार,समपूरक अनुदान ८० लाख र शसर्त अनुदान (चालु तर्फ) १ करोड ७३ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बाँकी अपुग रकम आर्थिक वर्ष २०८२/०८३ को बैंक मौज्दात अल्या बाट २ करोड ५७ लाख ९३ हजार १५२ रुपैयाँ व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
नगरसभाले “हामी सबैको चाहना, समृद्ध सिद्धिचरणका लागि दिगो विकासको योजना” भन्ने मूल नारासहित आगामी वर्षको बजेट तथा कार्यक्रम पारित गरेको हो। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्छी, खानेपानी, सिँचाइ र पूर्वाधार विकास लाई विशेष प्राथमिकता दिइएको छ। सभामा नगरप्रमुख तेजन खनाल ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकासलाई उत्पादन, सेवा प्रवाह र सुशासनसँग जोडिएको बताए।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार कृषि तथा पशुपालनको आधुनिकीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, सुरक्षित खानेपानी तथा सरसफाइ, सडक, सिँचाइ, विद्युत् लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। यस्तै, पारदर्शी र जवाफदेही शासन प्रणालीको विकास, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशी विकासलाई जोड दिइएको छ।
वन, जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई समेत नीति तथा कार्यक्रमको प्रमुख आधार बनाइएको छ।
कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले सम्बोधन गर्दै ओखलढुंगा सहित प्रदेशका केही जिल्ला विकासका दृष्टिले अझै पछाडि रहेको उल्लेख गरे । ती जिल्लाको समुचित विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नगरसभाले सार्वजनिक गरेको बजेट र नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, आधारभूत सेवाको विस्तार, पूर्वाधार निर्माण तथा सुशासनमार्फत समृद्ध सिद्धिचरण निर्माणको लक्ष्य लिएको जनाएको छ।


