असार २७, २०७९
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ ।
सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।
अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।
२० किलोग्राम भन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । अजिंगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताए ।
कान्तिपुरबाट