३२ असार, काठमाण्डौं । जेठ १३ देखि प्रदर्शनमा आएको कबड्डी ४ आठौँ हप्तामा प्रवेश गरेको छ । कोरोना महामारीपछि सबैभन्दा लामो समय हलमा टिक्ने नेपाली फिल्म बनेको कबड्डी ४ अब दुई दिन हलमै रह्यो भने ५१ दिन मनाउनेछ ।
कबड्डी ४ ले ५१ औं दिन मनाउन लाग्दै गर्दा शुक्रबारदेखि हलमा हिन्दी र नेपाली गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म सिल्ली फो र सम्झना बिर्सना तथा हिन्दी फिल्म साबास मिठु र जुदा होके भी ले एकसाथ प्रदर्शन थालेका हुन् ।
निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक कमेडी लभस्टोरी जनरामा बनेको फिल्म ुसम्झना बिर्सनाुले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। आकाश र पूजा बाहेक सुनील थापा र छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको छ।
अर्को नेपाली फिल्म सिल्ली फो ले भने मल्टिप्लेक्समा सबैभन्दा कम शो पाएको छ। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई एउटा शो पनि दिएको छैन भने अन्य हलहरूले एक शो मात्रै दिएका छन्। राजबहादुर सानेको निर्देशनमा बनेको कमेडी ड्रामा फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लगायत कलाकारको मुख्य भूमिका रहेको छ।