रामहरि श्रेष्ठ ७ भदौ
ओखलढुंगा: संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दै ओखलढुंगाका संयुक्त कर्मचारी संगठनले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । मंगलबार कर्मचारीहरुको संयुक्त संगठन संयुक्त ट्रेड युनियन सञ्जालले कार्यालयमा ११ बुदे माग सहितको कालो ब्यानर टाँस गरेर हातमा कालोट्टी बाँधी काम सुरु गरेका छन् ।
राज्यको संरचना फेरिएको लामो समयसम्म पनि निजामति ऐन जारी नभएको भन्दै संगठनले तत्काल कर्मचारीमैत्री निजामती ऐन जारी गर्न सरकारको ध्यानाकषर्ण गराएका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय लगायतका आफु संवद्ध कार्यालयहरुमा आफ्नो माग सहितको कालो ब्यानर टाँस गरेर हातमा कालो पट्टि बाधेर काम गरेका छन् ।
पहिलो चरणमा प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकषर्ण गराएका संगठनले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको नेपाल निजामती कर्मचारी संघका जिल्ला अध्यक्ष सुजन घिमिरेले बताए । कर्मचारीहरुको ११ बुदे माग पत्रमा कर्मचारी मैत्री हुने गरी संघीय, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तत्काल जारी गरिनुपर्ने, क्षतिपूर्ति सहित नागरिक सेवा प्रवाहको सुनिश्चित गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषा भित्र राखिनुपर्ने लगायका माग गरेका छन् ।
त्यस्तै तीनै तहको अन्तरसम्बन्ध कायम हुने गरी राष्ट्रिय र आधिकारिक ट्रेड युनियन बनाउनु पर्ने, कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर्नुपर्ने, तीनै तहका कर्मचारीको समान अवधिमा वृत्ति विकासको सुनिश्चित गरिनु पर्ने र अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको न्यायोचित व्यवस्थापन हुनुपर्ने सहितको माग गरिएको नेपाल निजामती कर्मचारी संघका जिल्ला अध्यक्ष घिमिरेको भनाई छ ।
आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तरगत आगामी भदौ १७ गतेसम्म कार्यालयमा कालो ब्यानर टाँस गरेर हातमा कालो पट्टि बाधेर काम गर्ने उनीहरुले बताएका छन् । नेपालमा राज्यको संरचना फेरिएको लामो समय बितिसक्दा समेत संघिय निजामती कर्मचारी ऐन जारी हुन सकेको छैन। यसअघि २०४९ सालमा जारी भएको ऐन नै कार्यन्वयनमा रहेको छ ।