ओखलढुंगा । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा आफ्नो कार्यकालमा केहि राम्रो र प्रभावकारी सेवा दिने प्रयास भएको बताएका छन । जिल्लामा आफुले प्रजिअको जिम्मेवारी सम्हालेको १ वर्ष पुरा भएको अवशरमा आज (बिहीबार) पत्रकारहरु संग अन्तरक्रिया गर्दै यसअघि जिम्मेवारी सम्हालेका प्रजिअ र अन्य कर्मचारीहरुले गरेको कामको जगमै रहेर आफुले पनि केही राम्रो गर्ने प्रयास गरिएको बताए ।
यस क्रममा उनले २०७८ माघ देखी २०७९ पौष २७ गतेसम्मको प्रगति प्रतिवदेन प्रस्तुत गर्दै यसमा आफ्नो एक्लो प्रयास मात्र नभई कतिपय सुरक्षा निकाय, कार्यालयका कर्मचारी, संघसंस्था, पत्रकार र सरोकारवाला निकाय संगको सहकार्यमा कार्यहरु सम्पादन भएको बताए । प्रसासनबाट नागरिकता दिने प्रक्रिया नियमित भएको भएपनि यसलाई आफुले प्रजिअको जिम्मेवारी सम्हाले देखि अलि सहज,सरल, गुणस्तरीय र प्रभावकारी बनाईएको उनले बताए ।
“यस अघि सेवाग्राहीले ढोकाबाट सेवा लिईरहेको अवस्था थियो, त्यहाँ एकदमै भिडभाड समेत हुन्थ्यो उनले भने अहिले त्यो अवस्था छैन, सिमित स्रोत साधनको प्रयोग गरेर नै सेवाग्राहीलाई बाहिर बस्ने सम्मको व्यवस्था मिलाईएको छ । बाहिरबाटै अभिलेखहरु प्रमाणित हुने, सनाखत हुने लगायतका ब्यवस्था भएका छन ।”
सेवाग्राहीको अत्याधिक भिड हुने समयमा उनिहरुको अवस्था र समस्यालाई हेरेर आवश्यक कागजात र प्रमाण पुगेको अवस्थामा कहिलेकाँही सार्वजनिक बिदा र कार्यालय बन्द भैसकेपछि पनि सेवा दिईएको तामाङले बताए । आफ्नो नेतृत्व र अन्य फाँटका कर्मचारीको सहकार्यमा ७० वर्ष भन्दा माथिका १४ जना नागरिकले समेत पहिलो पटक नागरिकता पाएको उनले बताए । ति मध्ये २ जनालाई प्रसासनमा आउन सक्ने अवस्था नभएकाले घरमै कार्यालयका कर्मचारी पुगेर नागरिकता दिईएको उनले बताएका छन ।
यस्तै आफु आउँदा ‘ई’ पासपोर्ट वितरण सुरु भैसकेको भएपनि यसको प्रक्रिया झन्झटिलो र खर्चिलो हुने गरेको पाईएपछि तत्काल तोकिएको राजश्व बाहेक एक रुपैयाँ पनि खर्च नहुने गरी राहदानी विभाग संघ समन्वय गरेर थप सहज बनाईएको उनको भनाई छ । जसले गर्दा सेवाग्राहीले ढिलोमा १५ देखी २२ दिनभित्रै राहदानी पाउने गरेको उनले बताए ।
त्यस्तै जिल्लाका विभिन्न स्थान र समयमा विभिन्न दुर्घटना तथा आपराधिक क्रियाकलापको शिकार भएका पिडित र घाईतेहरुको तत्काल उद्धार, उपचार गर्ने र गराउने कार्यमा समेत प्रसासन सफल भएको उनको भनाई थियो । त्यस्तै प्रसासनमा आउने विभिन्न प्रकृतिका गुनासो तथा उजुरीजस्ता समस्याको पनि सकेसम्म समाधान गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
जिल्लामा रहेका विभिन्न रुग्न आयोजनाहरु समेत सम्बन्धित ठेकेदार र सरोकारवाला निकायसंग समन्वय गरेर केहि हदसम्म सम्पन्न भएको, विभिन्न आयोजनाहरुको मुआब्जा वितरण, विपद व्यवस्थापन, सरकारी भवन, भौतिक पूवार्धार निर्माणलगायतका कार्यहरु समेत अगाडी बढाउने, कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालनलगायतका कार्यमा आफ्नो महत्वपुर्ण भूमिका रहेको उनको भनाई थियो ।
१ वर्षमा २ करोड बढी राजस्व संकलन, ५ हजार नागरिकता वितरण
यसैबिच कार्यालयले १ वर्षको अवधिमा २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङले २०७८ माघ देखी २०७९ पौष २७ गतेसम्म २ करोड २५ लाख ३१ हजार ५७५ रुपैयाँ राजस्व संकलन गरिएको बताए ।
त्यस्तै ११ लाख ४५ हजार रुपैयाँ विपद राहत वितरण गरिएको प्रसासनले जनाएको छ । यता १ वर्षको अवधिमै ५ हजार ४ सय ४६ नयाँ नागरिकता र २ हजार ८ सय ९४ प्रतिलिपी वितरण भएका छन ।
त्यस्तै २ हजार ६ सय ६७ वटा एमआरपी तथा विद्युतिय राहदानी वितरण, ८० वटा नावालक परिचयपत्र वितरण, ८ हजार ७ सय ७२ राष्ट्रिय परिचयपत्र विवरण दर्ता, २२ वटा संस्था दर्ता गरिएको जिल्ला प्रसासन कार्यालय ओखलढुंगाले जनाएको छ ।