ओखलढुंगा । बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाईते भएका १० जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ दियाले स्थित राउटार भन्ने ठाउँमा आज (आईतबार) बिहान ना १ ज ८४७३ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दियालेबाट यात्रुहरु लिएर ओखलढुंगा सदरमुकाम तर्फ आउँदै गरेको जीप अचानक अनियन्त्रित भई दुर्घटना हुँदा दियालेका ५२ बर्षिय मिनबहादुर श्रेष्ठ र सोहि ठाउँका ७० बर्षिय भक्तबहादुर थापाको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन । घाईते मध्ये गम्भीर घाईते भएका १० जनालाई उद्धार दुई पटकमा हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपकबहादुर केसीले जानकारी दिए ।
उनका अनुशार गम्भीर घाईतेहरु चिसंखुगढी ३ दियालेका चालक २५ बर्षिय सुमन कार्की, सोहि ठाउँका २६ बर्षिया सर्मिला श्रेष्ठ, ४० बर्षिय केन्द्रबहादुर कार्की र चिसंखुगढी १ कुईभिरका २२ बर्षिय खेमबहादुर खत्रीलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको थियो ।
त्यसपछि पुन अर्को हेलिकोप्टरमा सिद्धिचरण नगरपालिका १० बेतिनीका ४० बर्षिया तुलसा धमला उनकै २ बर्षिय छोरा बिनय धमला, चिसंखुगढी ३ दियालेकी ५० बर्षिया तिर्थलक्ष्मी श्रेष्ठ सोहि ठाउँकी १३ बर्षिया आयुषा श्रेष्ठ, ४ बर्षिया लरिसा श्रेष्ठ र चिसंखुगढी गापा २ का ५७ बर्षिया तिलकुमारी श्रेष्ठलाई उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
दुर्घटनामा सामान्य घाईते भएका मोलुङ गाउँपालिका १ का ३५ बर्षिया जानुका धमला र उनको ४ बर्षिय छोरा कोशिस धमलालाई एम्बुलेन्स मार्फत उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाईएको प्रहरी प्रमुख केसीले जानकारी दिए । सडकमा गुडिरहेको जिप अचानक अनियन्त्रित हुँदा सडकबाट झन्डै १ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएकाहरुको अहिले काठमाण्डौ स्थित टिचिङ हस्पीटलमा उपचार भैरहेको बताईएको छ । उनिहरु मध्ये अधिकांशको टाउको र शरिरका अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।