ओखलढुंगा । सुनकोशी गाँउपालिकाले आफ्नो एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शनिबार गाउँपालिकाको कार्यालयमै आयोजित “सुनकोशी गाउँपालिकाको एक बर्षे बार्षिक कार्यप्रगति विवरण सार्वजनिक तथा पत्रकार सम्मेलन” मा प्रगति विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल तामाङले एक वर्षको अवधीमा पालिकामा सम्पन्न भएका विभिन्न आयोजना तथा योजनाहरुको जानकारी दिए । विशेष गरी एक वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत लगायतकाक्षेत्रमा निकै उपलब्धि हासिल गरेको उनको भनाई थियो ।
गाउँपालिकामा आउने सेवा ग्राहीलाई ३० मिनेटमै सेवा दिने गरी व्यवस्थापन मिलाईएको भन्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी कम भएका विभिन्न विद्यालयहरु मर्ज गरिएको, शिक्षक व्यवस्थापन, विद्यालयको भौतिक सुधार लगायतका उल्लेखनिय काम भएको दाबी गरे । पालिकाको नियमित अनुगमन अथा अवलोकल आदीले पनि शिक्षा क्षेत्रमा सुधार हुँदै गएको उनको भनाई थियो । त्यस्तै पालिकाकै केहि विद्यालयलाई अंग्रेजी माध्ययमबाट पठनपाठनका लागि तयारी भैरहेको तामाङले बताए ।
त्यस्तै पालिका आउजाउ गर्ने मुख्य सडक तथा अन्य सडकहरु निर्माण तथा मर्मत सम्भार गरिएको उनले बताए । एक वर्षको कार्यकालमा पालिकामा कुनै पनि सवारी साधन खरिद नगरी त्यसमा लाग्ने रकम, विभिन्न खानेपानी, सडक सुधार, विद्युत विस्तारलगायतमा खर्च गरिएको अध्यक्ष तामाङको भनाई छ । वडामा छुट्टयाईएको बजेट निकै कम हुँदा समस्या भएको भएपनि विभिन्न बाहनामा हुने फजुल खर्च कम गरेर नागरिकको मुहारमा खुसी ल्याउने काम गर्न पालिका लागिपरेको उनले बताए ।
पालिकाका विभिन्न विषयगत शाखामा कर्मचारी अभाव हुँदाहुँदै पनि १० वटै वडा कार्यालयमा ईन्टरनेट विस्तार, पालिकामै सबैभन्दा बढी सिंचाईका लागि सिंचाई कुलो निर्माण, अध्यक्ष संग बालिकालिका कार्यक्रम लगायतका कार्यक्रम तथा योजनाहरु सम्पन्न भएको अध्यक्ष तामाङले बताए ।
पहिले गाउँपालिकाको कार्यप्रगति विवरण सार्वजनिक गर्ने र त्यसपश्चात विभिन्न वडा सार्वजनिक सुनुवाई गर्ने तयारी गरिएको उनको भनाई थियो । कार्यक्रममै गाउँपालिका स्थित १० वटै वडाका वडा अध्यक्षहरुले वडाको एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेका थिए । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विवेक तामाङले उद्घोषण गरेको कार्यक्रममा पालिका उपप्रमुख सुनिता अधिकारी, प्रमुख प्रशाशकिय अधिकृत रामकुमार कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।