ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८० ÷०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज (आईतबार) सम्पन्न १२ आँै नगरसभाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपैयाँको आय र व्यय पारित गरेको हो ।
जसमा आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत मध्ये नगरपालिकाको आन्तरिक आय १ करोड ४० लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँडबाट ६५ लाख, राजश्व बाँडफाँड संघिय सरकार ९ करोड, ८७ लाख ३ हजार ३ सय रुपैयाँ रहेको नगरउपप्रमुख केदारबाबु बस्नेतले जानकारी दिए ।
त्यसैगरी सवारी साधन कर प्रदेश सरकार ८५ लाख ९३ हजार, संघिय सरकारबाट बित्तिय समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र शर्शत अनुदान गरी ४९ करोड ८८ लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरण, समपुरक अनुदान र शर्शत अनुदान गरी ३ करोड ३१ लाख, ३ हजार र बाँकी नपुग रकम २ करोड ५० लाख रुपैयाँ मौज्दातबाट ब्यहोरिने उनले बताए ।
उपप्रमुख बस्नेतले सभामा प्रस्तुत गरेको बजेट नगरसभाले संशोधनसहित पारित गरेको हो छ । बजेटमा विशेष गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिईएको छ । त्यस्तै नगरसभामा नगर प्रमुख तेजन खनाल (तेजेन्द्र) ले आगामी आर्थिक वर्षको विभिन्न नीतिहरु सार्वजनिक गरे ।
जसमा कृषी, पशुपंक्षी, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला बालबालिका तथा समाज कल्याण, सहकारी सम्बन्धि, पूर्वाधार विकास, सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास ,विद्युत, संचार तथा सूचना प्रविधि, वन तथा भू–संरक्षण, भू–तथा जलाधार संरक्षण, जलवायु परिवर्तण र फोहोर मैला ब्यवस्थापन नीति पारित गरिएको छ ।
त्यसैगरी कानुन न्याय तथा मानव अधिकार प्रवद्र्धन, श्रम र रोजगार, विपद् ब्यबस्थापन, संस्थागत सुसासन,मानव विकास तथा संस्थागत क्षमता विकास, राजश्व परिचालन, बित्तिय ब्यवस्थापन तथा वित्तिय जोखिम न्यूनिकरण, पर्यटन, सामाजिक सुरक्षा र संस्कृति प्रवद्र्धन लगायतका नीति तथा कार्यक्रम पनि पारित भएको छ ।
यस्तै नगरपालिकाले आगामी आर्थिक वर्षमा ५३ लाख ३६ हजार रकम जोगाउने गरी चालु तथा प्रशासनिक खर्चमा मितव्ययीता अपनाउने भएको छ । चालु आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा ११ करोड ९१ लाख ३२ हजार आठ सय ६० रुपैयाँ विनियोजन भएकोमा आगामी वर्षका लागि ११ करोड ३७ लाख ९६ हजार मात्र विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताए ।