ओखलढुङ्गा । सुनकोशी नदीमा पौडी खेल्न गएका ओखलढुङ्गाका एक किशोर नदीले बगाएर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका ४ को जेरुङघाट सुनकोशी नदीमा आइतबार बिहान पौडी खेल्न गएका दुई किशोर मध्ये एक किशोरलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।
नदीले बगाएर बेपत्ता हुनेमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ४ जेरुङघाटका झरीमान राईका १६ बर्षिया छोरा नयन्द्र राई रहेका छन् । झरीमानका छोरा नयन्द्र र सोहि स्थानका नैना बहादुर राईको १५ बर्षका छोरा आशिष राई गर्मी भएपछि आइतबार बिहान १० बजे सुनकोशी नदीमा पौडी खेल्न गएका थिए । दुवै जना पौडी खेल्ने क्रममा नदीले दुबै जनालाई बगाएको थियो । नदीले बगाएका आशिष भने झण्डै एकसय मिटर तल पौडी खेलेर बाहिर आएका थिए । तर नयन्द्रलाई भने नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
विगत केही दिनदेखि देशव्यापी रूपमा नै वर्षात धेरै भै रहेको छ । वर्षातको कारण खोला तथा नदीहरुमा भल बाढीसँगै पानीको सतह बढेको छ । भल आएर नदीको सतह बढिरहेको बेला नदीमा पौडी खेल्न गएका नयन्द्रलाई सुनकोशीले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता भएका किशोरको प्रहरी र स्थानीयहरुले सहयोगमा खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।