ओखलढुंगा । लिखु गाउँपालिका वडा नं. ६ खाल्टेले वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । वडा स्तरीय भलिवल प्रतियोगितामा विजयी हुने विजेता टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
खाल्टेको माटेबेसीमा रहेको सिद्धेश्वर महादेवको मन्दिर भएको स्थानमा तेश्रो बालाचतुर्दशी मेला महोत्सवको अबसर पारेर वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको हो । महोत्सबको अबसर पारेर मंशीर २१ देखी वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको र महोत्सबको समापनको दिन अर्थात मंशीर २४ गते भलिबलको फाईनल प्रतियोगिता सञ्चालन गरिने लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिए ।
प्रतियोगीतामा दोश्रो, तेश्रो र सान्त्वना हुने टीमले पनि क्रमश नगद रु ७५ हजार, ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टीमले पनि नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष क्याप्छाकी मगरले जानकारी दिए ।
भलिबल प्रतियोगिता २१ गते देखी सुरुवात हुने र महोत्सवका कार्यक्रमहरु भने २२ गते देखी सञ्चालन हुनेछन् । बालाचतुर्दशीका अबसर पारेर सिद्धेश्वर मन्दिरमा विगत तिन बर्षदेखी महोत्सवको आयोजना हुदै आएको छ । ‘लिखु खोला माटेबेसी सिसन्धु घुम्न जाउँ, सिद्धेश्वर महादेवको दर्शन गरौं, हाम्रो धार्मिक परम्परालाई कायम राखौ भन्ने नाराका साथ यसपटक पनि तेश्रो महोत्सवको आयोजना गरिएको हो ।
महोत्सव अन्तर्गत २४ गते नेपाल सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सञ्चालन हुने तिनै दिन नेपालका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती रहने महोत्सव आयोजक समितिका अध्यक्ष एवम् जनजागरण युवा क्लब खाल्टेका अध्यक्ष रोशन मगरले जानकारी दिए ।