ओखलढुंगा । प्रहरीले नियन्त्रणमा लिएको ५ लाख भन्दा बढीको अबैध पेय पदार्थ सहित मालबाहक ट्रक कर कार्यालयको जिम्मा लगाइएको छ । गत शुक्रवार झन्डै ७:३० बजेको समयमा जिल्लाको मानेभञ्ज्याङ गा.पा. ६ जयरामघाट स्थितमा काठमाण्डौंबाट प्र.३-०१००६ ख ०९१० नं. को मालबाहक ट्रकमा उक्त पेय पदार्थ ल्याएको थियो ।
बिना बिल बिजक ल्याएको माउन्टेन डिउ, मिरिन्डा,पेप्सी नामक पेय पदार्थहरु अबैध रुपमा ल्याएर अनलोड गर्दै गरेको जानकारी पाएपछी प्रहरीले पेय पदार्थ, ट्रक र चालक सहितलाइ नियन्त्रणमा लिएको हो ।
उक्त मालबाहक ट्रकबाट माउन्टेन डिउ २.२५ लिटरको २५० कार्टुन,पेप्सी २.२५ लिटरको ५० कार्टुन, पेप्सी ५ सय मि.लि.को १४ कार्टुन, मिरिण्डा ५०० मि.लि. को ८ कार्टुन गरी जम्मा ५ लाख २२ हजार ५ सय २४ रुपैया बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आबश्यक अनुसन्धान पछि पेय पदार्थ मालबाहक ट्रक र चालक समेतलाई आवश्यक कार्बाहीको लागि आज (आइतबार) आन्तरिक राजश्व कर कार्यालय ओखलढुंगामा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।