ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ स्थित रमाइलोडाँडामा खोप केन्द्र तोकिएको छ । बालबालिकाहरुलाई लगाइने नियमित खोप बिसिजि, डिपिटी तथा पेन्टाभ्यालेन्ट तथा गर्भवती महिलालाई टिडी खोप प्रत्येक महिना लगाउनु पर्ने हुन्छ । तर खोप केन्द्रको आफ्नै निश्चित भवन नहुँदा यातायातको टिकट काउन्टरमा केही समयलाई अनुरोध गरेर स्वास्थ्यकर्मीले खोप राख्छन र बालबालिका र गर्भवतीलाई यहीँबाट सेवा दिईन्छ ।
बालबालिकाई खोप दिईएको कम्तीमा आधा घण्टासम्म आमा र बच्चालाई विश्राम गराउनु पर्ने हुन्छ । तर बस्ने ठाउँकै अभावका कारण समस्या भैरहेको स्वास्थ्यकर्मी हिमाल दाहालले बताए । त्यस्तै टिकट काउन्टरमा कुनै बेला बैठक, लगायतका अन्य कार्यक्रम हुँदा खोप सञ्चालनमै समस्या पर्ने गरेको अर्की स्वास्थ्यकर्मी सम्झना श्रेष्ठले बताईन ।
सिद्धिचरण नगरपालिकामा यसरी खुल्ला आकाशमुनि १५ खोप केन्द्र चलिरहेका छन । कति महिलास्वास्थ्य स्वयंसेविकाहरुले घरका आँगन तथा दलान, कति चौतारा र कतै सडकमै खोप लाउनु पर्ने बाध्यता छ । खोप लगाउँदा र लगाएपछि कतिपय बच्चाहरु बेहोस हुन सक्ने, साइड इफेन्ट देखिने भएकाले प्रतिक्षालय र आराम कक्ष अनिवार्य आवश्यक पर्छ ।
तर खोप केन्द्र अभावकै कारण यहाँ महिनैपिच्छे स्वास्थ्यकर्मी र सेवाग्राहीले विभिन्न खाले समस्या सामना गर्दै आएका छन । बस्ने ठाउँ अभावका कारण धेरै पटक घाम पानी र धुलोमै उभिएर आफुहरुले सेवा लिन बाध्य भएको सेवाग्राही सानु तामाङको भनाई छ ।
सिद्धिचरण नगरपालिकाको १२ वटा वडामा ३७ खोप केन्द्र तोकिएका छन । तीमध्ये १२ वटा स्वास्थ्य चौकीमा चल्छन भने अन्यत्र १० वटा निर्माण गरिएका छन । अझै १५ वटा खोप केन्द्र अत्यावश्यक छन । तर यसतर्फ नगरपालिकाले विगत ३ वर्षदेखि कुनै बजेट तथा कार्यक्रम नै ल्याएको छैन ।
नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पवनकुमार लामाले समस्या समाधानका लागि जनप्रतिनिधी, प्रशासकिय अधिकृत र कार्यपालिका बैठकमा छलफल गरिने बताए । बैठकबाट सकारात्मक निष्कर्ष निस्किने उनले आशा ब्यक्त गरे ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नगरपालिकाले चासो नदिँदा सर्वसाधरण नागरिकले दुख पाईरहेका छन । खोप केन्द्र अभावकै कारण खुल्ला आकाशमुनी खोप सञ्चालन गर्नुपर्दा अझ ठुलो समस्या नआउला भन्न सकिन्न । त्यसकारण समस्या समाधानका लागि स्थानीय निकायको विशेष ध्यान जान जरुरी छ ।