ओखलढुंगा । मंगलबार राती परेको अबिरल बर्षाका कारण जिल्लाको मोलुङ गाउँपालिका १ मा पर्ने साउने र लिपेखोला आसपासका ८ घर पहिरोको उच्च जोखिममा परेका छन । केहि स्थानमा घरभन्दा मुनिको जमिन भासिने र कतै घरभन्दा माथिबाट पहिरो खस्दा घरहरु जोखिममा परेका हुन ।
वर्षाका कारण मोलुङ गाउँपालिका १ साउनेका महेन्द्र बिकको ढुंगा माटोको गारो,टिनको छानो भएको २ तले घर जोखिममा परेको छ । घर नजिकैको जमिन भासिन गई घर जोखिममा रहेको र उक्त घरमा बस्न नमिल्ने भएको प्रहरीले जनाएको छ । पिडित बिक अहिले आफ्नै छोराको घरमा सरेका छन ।
त्यस्तै मोलुङ १ कै लिपेखोलामा बस्दै आएकी तारा बानिँया, भगवती कार्की र गिता कार्कीको घर पनि पहिरोको उच्च जोखिममा परेको छ । उनिहरुको ढुंगामाटो र टिनको छाना भएको २ तले घरभन्दा माथिबाट पहिरो खसेर ढुंगामाटो सहितको लेदो घरभित्र पस्दा बस्न नमिल्ने भएको छ ।
यता सोही स्थानका कान्ता कार्की, पाखा गाउँका गणेश कार्की र नानीमैयाँ कार्कीको ढुङगा माटोको गारो र टिनको छानो भएको २ तले घर भन्दा मुनिबाट पहिरो गई जोखिममा रहेको छ । त्यस्तै मोलुङ १ कै गहते बस्ने प्रेमकुमारी श्रेष्टको ढुङगा माटोको गारो टिनको छानो भएको २ तले घर भन्दा माथिबाट ढुङगामाटोको लेदो सहितको पहिरो आई घर भित्र पस्दा जोखिममा परेको छ ।
जोखिममा रहेका घरका मानिसहरु आफन्त र छिमेकीको घरमा शरण लिएर बसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।