ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का लागि आज (आईतबार) भएको उप–निर्वाचनमा ७ सय ६८ जनाले मतदान गरेका छन । कुल १ हजार ३ सय २५ मतदाता रहेको यस वडामा ५७.६९ प्रतिसत मत खसेको हो । जसमा ४ सय ७ जना महिला र ३ सय ६१ पुरुष रहेका छन । निर्वाचन आयोगको तोकेको समय बिहान ७ बजेबाट नै मतदान सुरु भएको थियो ।
वडा नम्बर ५ को प्राप्चा स्थित शिवदुती मा.विको प्राङगणमा मतदान स्थल तोकिएर क र ख मतदान केन्द्रमा मतदान भएको थियो । विहानै देखी साँझ ५ बजेसम्म कुनै पनि विवाद नभई सौहार्दपुर्ण वातावरणमा मतदान सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुशार आज साँझबाटै मतगणना सुरु गरिने र कुनै पनि विबाद नआए राती १० बजेभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने गरी तयारी गरिएको छ ।
मत संख्या थोरै भएपनि उम्मेदवार संख्या धेरै रहेकाले मत गणनामा समय लाग्न सक्ने बताईएको छ । प्राप्चामा वडा अध्यक्ष पदका लागि विभिन्न दलबाट ६ जनाको उम्मेदवारी परेको छ । यस अघि २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा उक्त वडा नेपाली कांग्रेसले जितेको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित तत्कालिन वडा अध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि उक्त वडामा उप–निर्वाचन गरिएको हो । यस पटकको उप–निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएको भएपनि मुख्य प्रतिष्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबिच नै हुने देखिन्छ ।