ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ६ ठाडे विशेष गरी तरकारी उत्पानको पकेट क्षेत्र मानिन्छ । यहाँ बुङको आलु, सेतो सिमी, च्याउ, बन्दाकोभी, काउलीलगायतका तरकारी प्रशस्त मात्रामा उत्पादन हुने गरेका छन । अर्गानिक रुपमा फलाईने यहाँको तरकारीले जिल्लाको अधिकांश बजार ओगटेको छ । यस्तै लामो समय देखी यहिँ ठाउँमै उत्पादन हुँदै आएको कोईरे मुला पछिल्लो समय भने जिल्ला बाहिर समेत चर्चित बन्न थालेको छ ।
ठाडेका अधिकांश स्थानीयले कोईरे मुलाको ब्यवसायिक रुपमा नै उत्पादन गर्ने गरेका छन । विशेष गरी कोईरे मुलालाई अचारको राजा नै मान्छिन । त्यसमाथी अर्गानिक रुपमा उत्पादन भएको यो मुलाको चर्चा अहिले जिल्लामा मात्रै नभएर जिल्ला बाहिर समेत बढ्न थालेको छ । एकपटक कोईरे मुलाको स्वाद लिएकाहरुले यसको प्रशंसा र आ—आफ्नै स्तरबाट प्रचार गर्न थालेपछि कोईरे मुलाको माग ह्वात्तै बढेको स्थानीय कृषक पुर्णबहादुर मगरले बताए । तकारी उत्पादनका हिसाबले या क्षेत्र विशेष गरी बुङको आलु र दोस्रोमा कोईरे मुला नै रहेको उनको भनाई छ ।
ठाडेमा असारमा लगाईने कोईरेमुला असोजको अन्तिम साताबाट विक्रीका लागि तयार हुन्छ । रासायनिक मलको प्रयोग नगरी अर्गानिक रुपमा फलाईने कोईरे मुला तरकारी, सलाद, अचार र सुकाएर भुजरीको रुपमा समेत प्रयोग गर्न सकिन्छ । उत्पादन भएको मुला बजार नलगी घरैबाट प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको अर्की कृषक सञ्जु मगरले बताईन । हाईवे पर्ने भएकाले विभिन्न सवारी साधनमा आउने आगन्तुकले सवारी रोकेर मुला किन्ने गरेको उनले बताईन । विशेष गरी तराईका जिल्ला र काठामाण्डौमा कोशेलीका रुपमा मुला लाने गरेको उनको भनाई छ ।
कोईरे मुलाको माग स्थानीय स्तरमा मात्रै नभई जिल्ला बाहिर समेत बढ्न थालेपछि स्थानीय सरकार र सम्बन्धित निकायले समेत सक्रियता बढाएको छ । स्थानीय सरकारले कृषकलाई प्रोत्साहन गर्न र आगन्तुकहरुको ध्यान आकर्षण गर्न ठाडेमा कोईरे मुलाको शालिक नै बनाएर प्रचार प्रसारमा जुटेको सिद्धिचरण नगरपालिका ६ का वडा अध्यक्ष मेखबहादुर मगरले बताए ।
यस क्षेत्रमा उत्पादन हुने विशेष गरी बुङको आलु, सेतो सिमी र कोईरे मुलालाई केन्द्रिय स्तरमै अर्गानिक प्रमाणित गर्न स्थानीय सरकार लागि परेको उनको भनाई छ । पछिल्लो समय कोईरे मुलाको माग जिल्ला बाहिर समेत बढ्दै गएकाले यसबाट स्थानीय कृषकलाई निकै लाभ मिल्ने देखिन्छ । त्यसकारण यसको ब्यापक ब्यवसायिक खेती विस्तार र बजारीकरणमा सम्बधित निकाय र स्थानीय सरकारले थप सक्रियता देखाउन आवश्यक देखिन्छ ।