ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका रामप्रसाद वाग्ले लामो समय देखी ब्यवसायिक सुन्तला उत्पादन गरिरहेका छन । सुरुसुरुमा आफै उपभोग गर्नको लागि जिल्ला बाहिरबाट थोरै विरुवा ल्याएर रोपेका उनि केहि वर्षमै उत्पादन राम्रो दिन थालेपछि थप हौसिए । र २० मुरी कोदो र मकै फल्ने करिब २० रोपनी बारी मासेर पुरै सुन्तला खेती गर्न थाले ।
सम्भवत जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने वाग्ले अहिले बगानमा बोँटले नै नथाम्ने गरी लटरम्म फलेको सुन्तला देखेर दंग छन । उत्पादन भएको धेरैजसो सुन्तला बजारमा नलगी आफ्नो बगानबाटै बिक्री हुने गरेको उनले बताए । वाग्लेले अघिल्लो वर्ष सुन्तला बेचेरै ४ लाख रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष भने गत साल भन्दाबढि सुन्तला उत्पादन भएकाले करिब ५ लाख रुपैयाँ भित्रयाउने उनको लक्ष्य छ ।
वाग्ले जस्तै सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकै अर्का कृषक ताराबहादुर बानियाँ पनि पछिल्लो समय ब्यावसायिक रुपमै सुन्तला उत्पादन गरिरहेका छन । करिब ५ रोगपनी क्षेत्रफमा सुन्तला लगाएका उनको बगैँचामा गत वर्षबाट केही बोट उत्पादन पनि सुरु भयो । गत वर्ष उनले सुन्तला बिक्रीबाट २५ हजार आम्दानी लिए भने यस वर्ष ६० हजार बराबरको सुन्तला बिक्री गर्न सकिने उनको आंकलन छ । स्याहार र रेखदेख गर्न सके परम्परागत खेती भन्दा सुन्तला खेती फाईजनक देखिएपछि आफु यस तर्फ आकर्षित भएको उनको भनाई छ ।
वाग्ले र बानियाँ जस्तै ज्यामिरेका झन्डै १ दर्जन कृषकले सुन्तलाको ब्यावसायिक खेती गरिरहेका छन । उत्पादन भएको सुन्तलालाई बजारको पनि खासै समस्या देखिएको छैन भने बगानबाटै प्रतिकिलो ८० देखी १ सय रुपैयाँ सम्ममा बिक्री हुँदै आएको छ । कृषकको सुन्तला उत्पादनमा चासो बढेपछि स्थानीय सरकारले पनि यसतर्फ थप सक्रियता बढाएको छ ।
सिद्धिचरण नगरपालिका ९ का वडा अध्यक्ष गुणबहादुर खड्का (विवेक) ले स्थानीय सरकार कृषकको सारथी बनेको बताए । कृषकलाई आवश्यक पर्ने किटनाषक औषधी, समय समयमा आवश्यक प्राविधिक सुझाव पनि दिईने गरिएको उनको भनाई छ । त्यस्तै कृषकलाई प्रोत्साहन गर्न कृषक सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम पनि वडा तहबाटै हुने गरेको अध्यक्ष खड्काले बताए ।
ओखलढुंगाको करिब २ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो र स्वादिष्ट मानिन्छ । यहाँ उत्पादन भएको सुन्तलालाई ब्राण्डिङ गरेर सहज रुपमा जिल्ला बाहिर समेत निर्यात गर्न सकिए कृषकको मात्रै नभएर जिल्लाकै अर्थोपार्जनमा टेवा पुग्ने देखिन्छ ।