ओखलढुंगा। जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित ठुलाछापमा पहिलो पटक कृषी मेला प्रदर्शनी – २०८१ को आयोजना गरिएको छ । साहस नेपाल परियोजना ओखलढुंगा र वडा कार्यालयको आयोजनामा आज (मंगलबार) वडा कार्यालय परिसरमै कृषी मेला प्रदर्शनीको आयोजना गरिएको हो ।
स्थानीय उत्पादनको बजारीकरण गर्ने, कृषकलाई प्रोत्साहन गर्ने, रैथाने बालीको प्रबर्द्धन गर्ने लगायत उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ । कृषी मेलामा वडा स्तरका झन्डै ४५ जना कृषकहरुले आफ्नो उत्पादनलाई दर्ता गराएर प्रदर्शनीमा राखेका थिए । उनिहरुले विभिन्न किसिमका तरकारी, फलफुल, रैथाने बिउविजन, महलगायत प्रदर्शनीमा राखेका थिए ।
कृषी उपज प्रदर्शनीमा राख्ने कृषक मध्ये तरकारी, फलफुल, जरे र मौरीपालन गरि ४ विधामा प्रति विधा ४/४ जनाका दरले १६ जना उत्कृष्ट कृषक छनौट गरि पुरस्कृत गरिएको छ । पदर्शनीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई प्रतिव्यक्ति क्रमश नगद रु ३ हजार ३ सय, २ हजार २ सय, १ हजार ५ सय र १ हजार प्रदान गरिएको छ ।
सिद्धिचरण नगरपालिका २ का वडा अध्यक्ष बसन्त कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका मेयर तेजन खनाल, उपमेयर केदारबाबु बस्नेत, कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख टिका बानियाँ लगायतले सम्बोधन गरेका थिए ।