• २०८१, २५ चैत्र सोमबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ स्थित सानो चित्रेमा पहिलो पटक सञ्चालन भएको कृषक पाठशालाको समापन गरिएको छ । कृषी ज्ञान केन्द्र ओखलढुंगाले झन्डै ६ महिना अघि यस क्षेत्रका सक्रिय कृषकहरुको सिद्धदेवी आईपिएम कृषक पाठशाला समुह बनाएर १६ हप्ते काउली बालीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको थियो । सोहि पाठशालाको आज (आईतबार) कृषक दिवशको आयोजना गर्दै समापन गरिएको हो ।

समापन कार्यक्रममा सिद्धदेवी आईपिएम कृषक पाठशाला समुहको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदन अुनशार काउली खेतीमा आईपिएम तरिका र कृषक तरिका बिच तुलनात्मक नतिजा उत्पादन अध्ययन गर्ने तथा स्नोमिष्टिक र देवी २ जात काउली बिच रोग किरा लगायत जातिय तुलनात्मक नतिजा उत्पादन अध्ययन गर्नेजस्ता उदेश्यले कृषक पाठशाला सञ्चालन गरिएको हो ।

जसअनुशार स्थानीय एक किसानको १ रोपनी जग्गामा आधा रोपनीमा परम्परागत शैली र आधामा आईपिएम शैलीमा काउली बालीको कृषक पाठशाला सञ्चालन गरिएको थियो । जस अन्तर्रगत १५० दिनमा काउली बिक्रीका लागि तयार भएको र १ हजार ५ सय किलो उत्पादन भएको बताईएको छ । १ रोपनी क्षेत्रफलमा काउली उत्पादन लागत १८ हजार ६ सय ७३ र प्रति किलो ३८.२६ का दरले बिक्री गर्दा ५७ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाठशालामा स्नोमिष्टिक र देवी–२ गरि २ जातको काउली उत्पादन गरिएको थियो । कृषक पाठशालामा आईपिएम र कृषकको आफ्नै शैलीबाट उत्पादन गरिएको काउलीमा अध्ययन गर्दा आईपिएम तरिकामा जुन प्रविधि अपनाईएको थियो कृषकहरुले पनि त्यहिँ प्रविधि अपनाएको हुँदा उत्पादनमा खासै फरक नपाईएको बताईएको छ । त्यस्तै २ जातको काउली बिचको उत्पादन अध्ययन गर्दा स्नोमिष्टिक जातको काउलीमा डढुवा रोग बढि देखिए पनि उत्पादन भने देवी २ भन्दा धेरै भएको पाईएको छ ।

समापन कार्यक्रममा सिद्धिचरण नगरपालिका ५ का वडा अध्यक्ष डिल्लीशेर राई, ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँ, ज्ञान केन्द्रकै सहायक बाली संरक्षण अधिकृत ईन्द्र राई, समुहमा आवद्ध कृषकलगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राईले ज्ञान केन्द्रले आवश्यकताको आधारमा स्थान छनौट गरेर कृषक पाठशाला सञ्चालन गरेको भन्दै खुसी ब्यक्त गरे । कृषक पाठशाला कार्यक्रमले यस क्षेत्रको कृषी उत्पादनमा टेवा पुग्ने भन्दै कृषकहरुलाई थप हौसला मिल्ने उनको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने उनको भनाई थियो ।

यस्तै ज्ञान केन्द्रका निमित्त प्रमुख बानियाँले यस क्षेत्रमा काउली उत्पादनको सम्भावना प्रशस्त रहेकोले कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुशार पाठशाला सञ्चालन गरिएको बताए । कृषकहरुलाई जैविक विषादीको प्रयोग गर्ने र सत्रु जीव नियन्त्रण तथा मित्र जीव संरक्षणका जुक्ति सिकाउन कृषक पाठशाला सञ्चालन गरिएको उनले बताए । ज्ञान केन्द्र स्थापना भएपछि जिल्लामा पहिलोटक सञ्चालन गरिएको यो आईपिएम कृषक पाठशाला कृषक लागि निकै प्रभावकारी साबित भएको उनको भनाई थियो ।

यता किसानहरुले गुणस्तरीय बीउ, मलको उपलब्धता, सिँचाइको बर्षभरी सुबिधा हुनुपर्ने, असिना, हावाहुरीले पार्ने क्षतीका बेला राहत चाहिने, उत्पादनको उचित मुल्य पाउनुपर्नेजस्ता माग राखेका थिए । कार्यक्रममै पाठशालामा सहभागी कृषकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस्तै समुहका ४ उपसमुह मध्ये पाठशालामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना भएका समुहलाई क्रमश २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!