• २०८१, २५ चैत्र सोमबार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा सम्पन्न पाचौँ जिल्ला सभाले अनुमोदन गरेको निर्णय सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिती ओखलढुंगाको आयोजनामा गत चैत्र ५ र ६ गते पाचौँ जिल्ला सभा तथा चालु आर्थिक वर्ष २०८१÷०८२ प्रथम अर्धवार्षिक समिक्षा सम्पन्न भएको थियो । उक्त जिल्ला सभा तथा समिक्षा कार्यक्रममा निर्णय भई अनुमोदन गरिएका निर्णयहरु आज (शुक्रबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

समितीले जारी गरेको प्रेस बक्तब्यमा जिल्ला सभा तथा समिक्षा कार्यक्रममा विभिन्न विषयमा २० बुँदे निर्णय भई अनुमोदन गरिएको जनाइएको छ । समितीले तयार गरेको प्रेस बक्तब्य प्रस्तुत गरिसकेपछि पत्रकारहरुको जिज्ञासा तथा सवालहरुको सम्बोधन गर्दै समन्वय प्रमुख टेकराज भट्टराईले प्रदेश सांसदहरु, जिल्ला स्थित स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखलगायत सरोकारवाहरुको उपस्थितीमा उक्त निर्णय गरिएको बताए ।

निर्णयहरु प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन जिससले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो । विशेष गरि जिल्लामा सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न निर्णय गरिएको भट्टराईले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कोशी प्रदेशको जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ बमोजिम सञ्चालन भएको जिल्ला सभाबाट निर्णय भएका निर्णयहरु कार्यान्वयन गराउनको लागि आवश्यक समन्वय गर्न समेत सबै सरोकारवाला पक्षसंग उनले आग्रह समेत गरे ।

यस्ता छन पाँचौ जिल्ला सभाका निर्णयहरु

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आधारभूत तह विशेषतः कक्षा ३ सम्मको लागि जिल्ला शिक्षा समितिको बैठकबाट गठन गरिएको शैक्षिक कार्यदलले तयार गरेको शैक्षिक सरल अतिरिक्त सन्दर्भ सामाग्री कक्षा ०–१ को लागि शैक्षिक सत्र २०८२ र कक्षा २–३ को लागि आगामी शैक्षिक सत्र २०८३ बाट सबै सामुदायिक विद्यालयहरूमा प्रचलित कानूनसँग नवाझिने गरी स्वेच्छिकरुपमा लागू गर्न पहल गर्ने निर्णय गरिएको छ ।

त्यस्तै धूलोरहित कक्षाकोठा, वालमैत्री फर्निचरको प्रबन्ध साथै उक्त सन्दर्भ सामाग्री छपाई तथा वितरण सम्बन्धित स्थानीय तहहरूले गर्ने व्यवस्था मिलाउने र कार्यरत शिक्षकहरुको शैक्षिक पात्रो बनाई नियमित अनुगमन, मूल्याङ्कन र प्रोत्साहन सम्बन्धित स्थानीय तहहरुले नियमित रुपमा गर्ने, जिल्लाका स्थानीय तहहरुमा कम्तिमा १÷१ वटा आवासीय विद्यालय संचालन गर्न तीनै तहका सरकारहरूसँग पहल गर्ने, लैंगिक हिंसालाई न्यूनीकरण गर्न लैङ्गिक हिंसा सम्बन्धी विषय समावेश गरेर सबै सामुदायिक विद्यालयहरूमा पाठ्य सामाग्री तयार गरी लागू गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ४ मा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा श्री जलजलेश्वर महादेव मन्दिर क्षेत्रलाई जिल्लाकै गौरवको आयोजनाको मान्यता दिँदै जलजलेश्वर महादेव धार्मिक, सांस्कृतिक तथा पर्यटकीय धरोहरको वृहत्तर पूर्वाधार विकासका लागि संघीय सरकार तथा प्रदेश सरकार र राष्ट्रिय, अन्तर्राष्ट्रिय विकास साझेदार निकायहरू समक्ष अनुरोध गर्ने, रुम्जाटारमा रहेको एक मात्र जिल्ला अस्पलातको स्तरोन्नति गरी १०० शैया (बेड) संचालन, विशेषज्ञ चिकित्सकहरूको सेवा, नर्सिङ कलेजको स्थापना र संचालन र स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र सबै स्थानीय सरकारहरूबीच समन्वय र सहकार्य गरी उक्त अस्पताल प्रभावकारी रुपमा संचालनमा ल्याउने र चम्पादेवी गाउँपालिका वडा नं. १० मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको स्तरोन्नति गरी थप भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा संचालनमा रहेको जीवन विज्ञान प्रयोगशालाई निरन्तरता दिदै जिल्लाभर विस्तार गरी नागरिकहरुको जीवन स्वस्थ राख्न सबै स्थानीयतहरु र सरोकारवाला निकायहरुसँग समन्वय गर्ने, जिल्लाका सबै स्थानीय तहहरुमा कृषि उपज संकलन केन्द्र स्थापना गरी किसानहरूले उत्पादन गरेको कृषि उपज संकलन, भण्डारण र विक्रि वितरणको व्यवस्था मिलाउने, विकास निर्माण कार्यका लागि ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई सहज आपूर्ती गर्न यस्ता निर्माण सामाग्रीको अनियन्त्रित दोहनलाई निरुत्साहित गरी दिगो उपयोग गर्न र यस क्षेत्रबाट प्राप्त हुने राजश्व संकलनलाई व्यवस्थित गर्न सबै स्थानीय तहहरुमा ढुंगा, गिट्टी, बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९सम्बन्धी व्यवस्थाको सवै स्थानीय तहहरुले अक्षरस पालना गर्ने गराउने निर्णय गरिएको छ ।

त्यसैगरी समन्वय समितिको प्रशासनिक भवन रङ्गरोगन तथा मर्मत सम्भार गरिने,सभा, सम्मेलन, गोष्टी, तालीम, सेमिनार लगायतका कार्यक्रम संचालन गर्नका लागि जिल्ला सदरमुकाममा हालसम्म सुविधा सम्पन्न सभाहल नभएको हुँदा समितिको मातहतमा रहेको जग्गामा आधुनिक प्रविधिमैत्री सुविधासम्पन्न सभाहल निर्माण गर्न संघीय सरकार तथा प्रदेश सरकारसंग अनुरोध गर्ने, जिल्लामा कार्यरत राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको कार्यक्रमहरु सन्तुलन कायम राख्न र कार्यक्रमको प्रभावकारिता बढाउन जिल्ला सभा ऐन, २०७५ को दफा ३ (ख) (५) र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९२ को (ख) बमोजिम जिल्ला समन्वय समितिको कार्यलाई व्यवस्थित गर्न सम्पर्क व्यक्ति तोकी गैरसरकारी संघ÷संस्थाहरुको ईजाजत पत्र, परियोजना विवरण, कार्यक्रमहरूर प्रगति प्रतिवेदन नियमित रुपमा जिल्ला समन्वय समितिको कार्यालयमा बुझाउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यस्तै चिशंखुगढी गाउँपालिका वडा नं. ६ मा अवस्थित प्राकृतिक सम्पदा तालेपोखरी क्षेत्र, चम्पादेवी गाउँपालिका वडा नं. १० मा रहेको पोखरी भन्ज्याङ र चम्पादेवी गाउँपालिका वडा नं. ४ मा रहेका झरनाहरु, देवीस्थलहरू र लिखु गाउँपालिका वडा नं. ९ मा रहेको पोकली झरना, वडा नं. ८ को कुण्डलेश्वर महादेव, वडा नं. ७ को मैतकुन्ता ढुङदुडे, ४ मा रहेको बाङ्गे पिपल सेती देवी मन्दिर, वडा नं. ३ मा रहेको ऐतिहासिक, धार्मिक नर्मदेश्वर महादेव मन्दिर र चम्पादेवी गाउँपालिकाको ककनी मन्दिर, मोलुङ गाउँपालिका, चम्पादेवी गाउँपालिका र खिजिदेम्वा गाउँपालिकामा रहेको तीनतले गौरीवन क्षेत्रलाई पर्यटन प्रवद्र्धनका लागि वृहत्तर गुरुयोजना तयार गरी उक्त गुरुयोजना कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारहरूसँग अनुरोध गर्ने, जिल्ला भित्र रहेका ऐतिहासिक पुरातात्विक सम्पदाहरू देम्बाडाँडा, चुलीमन्दिर, दोब्रेभन्ज्याङ, पोकली झरना, रातमाटे झरना, सेप्ली झरना, सातसल्ले, कोटगढी, तलुवागढी, कुन्तादेवीगढीहरूको संरक्षण, संवद्र्धन गरी पर्यटन प्रवद्र्धनमा जोड दिने, सुनकोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित चञ्चलादेवी मन्दिर निर्माण एवं ठूलीपोखरी संरक्षण तथा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आवश्यक समन्वय र पहल गर्ने, खेलकुद क्षेत्रको विकास र प्रवद्र्धन गर्न चिशंखुगढी गाउँपालिका वडा नं. ५ मा रहेको सहिद केशव महेश कोइराला खेलकुद मैदान, चम्पादेवी गाउँपालिका वडा नं. ९ को डल्लीडाँडा खेलमैदान, खिजिदेम्बा गाउँपालिका वडा नं. ५ को बोझेटार खेलमैदान, सुनकोशी गाउँपालिका वडा नं. ५ मूलखर्कमा रहेको खेलकुद मैदान, सिद्धिचरण नगरपालिका सदरमुकाममा रहेको खेलकुद मैदान, तालेकोट भदौरे खेलकुद मैदान स्तरोन्नति गरी सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्न बजेट व्यवस्थापनका लागि तीनै तहका सरकारहरुसँग अनुरोध गर्ने पनि निर्णय भएको छ ।

पूर्वाधार विकास कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न यस जिल्ला समन्वय समिति ओखलढुंगाको कम्पाउण्ड भित्र रहेको जग्गा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडी बढाउने, जिल्लाको साँघुटार देखि सिलौरीघाट सम्मको सडकलाई सहिद क्याप्टेन यज्ञबहादुर थापा लोकमार्ग“ नामाकरण गरी कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिन पहल गर्ने, रमाइलोडाडा स्थित बसपार्कमा आवश्यक पूर्वाधार निर्माण गरी जथाभावी सडकमा सवारी पार्किङ निषेध गरी दुर्घटनाहरूलाई न्यूनीकरण गर्न लामो दुरीका सार्वजनिक सवारी साधन बसपार्कमै पार्किङ गर्ने व्यवस्थाका लागि पहल गर्ने, जिल्लाभित्र कुनै पनि आयोजनाहरू छनौट÷संचालन गर्दा त्यस आयोजनाको मर्मत संभार कार्यका लागि मर्मत वापतको रकम उपभोक्ताहरुबाट धरौटी स्वरुप सम्बन्धित कार्यालय÷निकायमा जम्मा गर्नुपर्ने भएमा उक्त आयोजना संचालन हुने सम्बन्धित स्थानीय तहको मर्मत सम्भारको ग्यारेन्टीका आधारमा आयोजना छनौट तथा कार्यान्वयन गर्ने सभामा अनुमोदन भएको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्ला समन्वय समितिले जिल्लाभित्रका कुनै पनि आयोजना अनुगमन गर्दा स्थानीय राजनैतिक दलका प्रतिनिधि, सम्बन्धित पालिकाको जनप्रतिनिधी, प्राविधिक र सरोकारवाला पक्ष तथा निकाय समेतको संलग्नतामा अनुगमन गर्ने, स्थानीय उपभोक्ता समिति मार्फत विभिन्न आयोजना कार्यान्वयका लागि उपभोक्ता समिति गठन गर्दा उपभोक्ता समिति गठन सम्बन्धि प्रचलित कानून वमोजिम सवै सरोकारवालाहरूलाई सूचना दिएर सरोकारवाला÷उपभोक्ताहरूको उपस्थितिमा समिति गठन गर्ने, जिल्ला समन्वय समितिबाट नगरपालिका र गाउँपालिकाहरुले सामाजिक, आर्थिक, वातावरणीय, शैक्षिक, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा संचालन गरेका आयोजना तथा कार्यक्रमहरूको प्रभावहरूको वस्तुनिष्ठ मूल्याङ्कनका लागि अनुगमनमा सवै पालिकाहरूले सहयोग गर्ने, जिल्ला सभा र समीक्षा कार्यक्रममा प्राप्त सुझावहरूको सम्बन्धित निकायहरूले कार्यान्वयनमा ल्याउने जस्ता निर्णय गरिएको जिल्ला समन्वय समिती ओखलढुंगाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!