ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ३ अधेरीमा विद्युत सट् भएर आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएको छ । आज (शनिबार) दिउँसो करिब १२:२५ बजेतिर स्थानीय प्रताप राइको घरमा आगलागी भएको हो । घरको विद्युत अचानक सट् भएर ढुङ्गामाटो र टिनको छानो भएको घरमा लागेको आगो अनियंत्रित भएर उनकै नजिकै रहेको ढुङ्गामाटो र फुसले बनेको अर्को घरमा समेत पुगेको हो ।
आगोले राइको २ वटै घर जलेको प्रहरीले जनाएको छ । आगलागीका कारण घर, घरभित्र रहेको नगद, सुनचादिका गहना, अन्नपात, लत्ताकपडा समेत जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आगोले अन्य घर भेट्ने सम्भावना नरहेको र सिद्धिचरण नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने (यो समाचार तयार पार्दा सम्म) प्रयास भैरहेको प्रहरीले जनाएको छ ।