ओखलढुंगा । आज युगकवी सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती । प्रत्येक वर्ष झैँ यस वर्ष पनि उनको जन्मजयन्तीमा ओखलढुंगामा विभिन्न कार्यक्रम गर्दै कविको स्मरण गरिएको छ । जन्मजयन्तीको अवशरमा उनकै जन्मस्थल सिद्धिचरण नगरपालिका १२ स्थितमा रहेको कवि श्रेष्ठको प्रतिमामा माल्यार्पन गरियो । साथै पुष्पगुच्छा र अबिर समेत चढाईएको छ ।
जन्मजयन्तीकै अवशरमा उनको प्रतिमास्थल सिद्धिचरण पार्कमा एक दर्जन बढी स्रष्टाहरुले विभिन्न रचना बाचन गरेका छन । कार्यक्रममा विद्यालयका बालबालिका देखि जेष्ठ नागरिकसम्मले रचना बाचन गरेका थिए । बाचन गरिएको रचनामा कवि श्रेष्ठको प्रंससा, जिल्लाको भौगोलिक अवस्था, विद्यार्थी जिवन र महत्व लगायतको वर्णन गरिएको थियो ।
सिद्धिचरण संग्रहालय समितीको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितहरुले नेपाली साहित्य र ओखलढुंगालाई चिनाउनमा साहित्य मार्फत कविले गरेका योगदान बारे चर्चा गरेका थिए । उनकै साहित्यीक यात्रालाई पछ्याउँदै जिल्लामा अन्य थुप्रै स्रष्टाहरुको जन्म भएको उनिहरुको भनाई थियो ।
पूर्वी नेपालको ओखलढुङ्गामा १९६९ साल जेठ ९ गते बुबा विष्णुचरण र आमा नीरकुमारीको एक मात्र पुत्रका रुपमा युग कवि श्रेष्ठको जन्म भएको थियो । उनले आफ्नो जीवनको साढे छ दशक लामो समय साहित्य साधनामा बिताएका छन । उनले फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका थुप्रै विधामा सफलतापूर्वक कलम चलाएका थिए ।
कवि श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा परिचित छन । उनको मेरो प्यारो ओखलढुंगा, निर्झर, साँझमा हिमालयको दृश्य,प्रातकालीन किरण,जूनकीरी,सपनाझैँ देखेँ तिनलाई,वर्षा आयो, वसन्तजस्ता दर्जनौ कविता प्रसिद्ध छन ।