ओखलढुंगा । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुखलाई कारबाही नगरिएको भन्दै नेकपा (एस) ओखलढुंगाले विरोध जनाएको छ । केहि समय अघि अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधीहरु भेटिएको थियो । त्यस्तो फेला परेपछि उक्त मेडिकल तत्कालै सिल गरिएको थियो ।
तर मेडिकल सिल गरिए पनि मेडिकल सञ्चालक स्वास्थ्य कार्यालय प्रमुख मन्सुरीलाई आवश्यक कारबाही नै नगरिएको भन्दै नेकपा एसले बिरोध जनाएको हो । यस अघि पनि कारबाहीको माग गर्दै आवाज उठाएको नेकपा एसले आज (शनिबार) सदरमुकाममा शुसासन रोजगारी समाजवादको तयारी भ्रष्टाचार अनियमितताको विरुद्ध विरोध सभाको आयोजना गर्दै कारबाहीको माग सहित विरोध जनाएको छ ।
विरोध सभालाई समाजवादी मोर्चाले समेत साथ दिएको नेकपा एसले जनाएको छ । विरोध सभामा बोल्दै नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी ओखलढुंगाका अध्यक्ष मेखबहादुर खड्काले नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधी स्वास्थ्य कार्यालय प्रमुखले आप्mनो निजी मेडिकलमा लगेर बिक्री वितरण गर्दा समेत कारबाही नै नगरिएकाले आवाज उठाइएको बताए ।
स्वास्थ्य कार्यालय प्रमुखले आफ्नो पदको दुरुपयोग गर्दै सरकारले निशुल्क वितरण गर्ने औषधी निजी मेडिकलबाट बिक्री गरेर सम्पती आर्जेको बताए । यस्तो अन्याय, अत्याचार र बेथिती भोलीका दिनमा पनि हुनसक्ने भएकाले विरोध गरिएको उनको भनाई छ । यस्तो अन्यायका विरुद्ध नेकपा एसले उठाएको आवाजमा सबैलाई साथ दिन पनि उनले आग्रह गरे ।
कार्यक्रममा नेकपा एसकै देवराज दाहालले स्वास्थ्य कार्यालय जस्तो संवेदनशिल क्षेत्रमा यस्तो बेथिती हुँदा पनि जिल्लाकै जनप्रतिनिधीहरु चुपचाप बसेको बताए । जनमानसमा यस्तो बेथिती र अत्याचार बिरुद्ध पनि कोही बोल्दैन भन्ने प्रभाव परेको बेला पालिका प्रमुहरुले आवाज उठाउने समेत हिम्मत नगरेको भन्दै उनले आपत्ती जनाए । स्वास्थ्य कार्यालय प्रमुखको निजी मेडिकल (मद्मा मेडिकल हल रुम्जाटार) जिल्लाका कतिपय पालिका प्रमुखहरुको भोजनलय र विभिन्न दलको आमसभा गर्ने, कार्यकर्ताहरुको स्वास्थ्योपचार गर्ने थलो भएको समेत उनले आरोप लगाए ।
कार्यक्रममै नेकपा (एस) कि नेतृ निर्मला श्रेष्ठले एउटा जिम्मेवार सरकारी कर्मचारीबाट यस्तो गैरकानुनी कार्य हुनु र कारबाही पनि नहुनु लज्जाष्पद र खेदजनक भएको बताईन् । यस्तो बेथिती विरुद्ध नेकपा एस र समाजवादी मोर्चाले गाउँगाउँमा पुगेर यस्ता विरोधको कार्यक्रम जारी राख्ने उनको भनाई थियो ।