ओखलढुंगा । कोशी प्रदेश सरकारले कृषी कर्जामा प्रदान गर्ने ब्याज अनुदान सहजै प्राप्त गर्न नसकिने एक कार्यक्रममा सहभागी कृषकहरुले बताएका छन । कृषी ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ओखलढुंगाले आज (आईतबार) सयुक्त रुपमा आयोजना गरेको कृषक तथा कृषी संग सम्बन्धित सरोकारवालाहरु बिच कृषी कार्यक्रम र पशु बिमा सम्बन्धि अन्तरक्रियामा सहभागी अगुवा कृषकहरुले यस्तो बताएका हुन ।
उनिहरुले प्रदेश सरकारले जारी गरेको कृषी कर्जामा ब्याज अनुदान ब्यवस्थापन कार्यविधी २०८१ वास्तविक कृषकको हितमा नै छैन कि भन्ने आशंका पैदा भएको बताए । झन्झटिलो प्रक्रियाका कारण सामान्य कृषक यसको पहुँचमै पुग्न नसक्ने र पहुँचवालाहरुले मात्र यस्को फाईदा लिने उनिहरुको तर्क थियो । एक पटक कर्जा लिएकाले कर्जा चुक्ता नहुन्जेल कृषी कर्जा नपाउने, कृषक समुहमा आवद्ध हुनेले कर्जामा अनुदान नपाउने, बिना धितो कर्जा नपाईने, बैंकहरुले कर्जा प्रवाह गर्नै हिचकिचाउने जस्ता समस्या देखिएको उनिहरुको भनाई थियो ।
बैंकहरुले बिना धितो कर्जा प्रवाह नगर्ने र जग्गा धितो राख्न परेपनि सडकले छोएको मात्रै राख्ने हँुदा धेरै कृषक यो अनुदानबाट बञ्चित हुनुपर्ने बाध्यता देखिएको सरोकारवालाहरुले बताए । वास्तविक, ब्यवसायिक र कर्जाको दुरुपयोग नगर्ने कृषकले बिना धितो कृषी कर्जा पाउने ब्यवस्था मिलाउन र स्थानीय सरकारको पनि भूमिका समावेश गर्न कार्यविधी नै संसोधन गर्नुपर्ने देखिएकाले यसको लागि पहल गरिनुपर्ने सहभागीहरुले बताएका छन ।
कार्यक्रममा उठेका जिज्ञासा र सवालहरुको कृषी कर्जा प्रवाहका लागि छनौट भएका बंैकका प्रतिनिधी, बिमा कम्पनीका प्रतिनिधी र जिल्ला स्थित कृषी तथा पशु विज्ञहरुले सम्बोधन गरेका थिए । जिज्ञासा सम्बोधन गर्दै बैंकका प्रतिनिधीहरुले बाटो नभएको जग्गा धितोका लागि मुल्यांकन गर्ने अख्तियारी आफूहरुलाई नभएको प्रष्ट पारे । कर्जा लगानीको पाटो निकै चुनौतीपूर्ण रहेकाले यदि कुनै कारणबस कर्जा अनियमित तथा असुरक्षित भएमा कर्जा असुलउपर गर्ने सम्पूर्ण जिम्मा कुनै निकायलाई दिईए कर्जा लगानी गर्न सहज हुने उनिहरुको भनाई थियो ।
कार्यक्रममा कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँले कृषी कर्जामा ब्याज अनुदान ब्यवस्थापन २०८१ बारे प्रष्ट पारेका थिए । उनले ब्याज अनुदान उपलब्ध गराउने क्षेत्रहरु, भुक्तानी अवधी,कर्जा प्रवाहका शर्तहरु, कार्यक्रम सञ्चालन प्रक्रिया, कृषी कर्जा स्वीकृती प्रक्रिया, कर्जाको सिमा अवधी र शर्तआदी बारे प्रस्ष्टयाएका थिए । उनले कृषी कर्जा लिन आउने कृषकहरुको सिफारिस ज्ञान केन्द्रबाटै हुने भएकाले वास्तविक र लगानी दुरुपयोग नगर्ने कृषकको मात्रै सिफारिस गरिने हुँदा ढुक्क भएर लगानी गर्न बैंकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा आईजिआई ईन्स्योरेन्सका शाखा प्रमुख खुरहरी दाहालले कृषी तथा पशु विमा र यसको फाईदा बारे प्रष्ट पारेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईले कोशी प्रदेश सरकारले सुरु गरेको कृषी कर्जामा ब्याज अनुदान र कृषी तथा पशु विमा बारे ब्यापक छलफल गर्न र सरोकारवाहरुलाई यसबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपप्रमुख तारादेवी कार्कीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन सम्बोधन गर्दै जिसस प्रमुख भट्राईले कृषकलाई दिईने कृषी कर्जाको ब्याज अनुदान सकेसम्म सहज ढंगले उपलब्ध गराउन आफुले सम्बन्धित निकायमा सक्दो पहल गर्ने बताए ।
बैंकको लगानी पनि शुनिश्चित हुने र वास्तविक ब्यावसायिक कृषकलाई पनि फाईदा मिल्ने गरि ब्याज अनुुदान कार्यक्रम सञ्चालन गरिनुपर्ने उनको भनाई थियो ।