ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–७, बिगुटारमा तरकारी उत्पादनसँगै स्थानीय जातका आलु खेती पनि उल्लेखनीय मात्रामा हुँदै आएको छ । यहाँका ३५ भन्दा बढी घरधुरी एउटै कृषक समूहमा आवद्ध भई वर्षमा २ पटकसम्म आलु उत्पादन गर्दै आएका छन् । तर विगतमा आलुको बिउ भण्डारण गर्ने उपयुक्त स्थान नहुँदा किसानलाई ठूलो समस्या हुने गरेको थियो । बिउ कुहिएर नष्ट हुने र बाह्य जिल्लाबाट महङ्गोमा बिउ ल्याउनुपर्ने बाध्यता अहिले भने हटेको छ ।
आधुनिक प्रविधियुक्त आलु भण्डारण गृह (रस्टिक हाउस) निर्माण भएपछि यहाँका किसानले राहतको महसुस गरेका छन् । सिद्धिचरण नगरपालिका–७, बिगुटक्सारका कृषक रिञ्जी शेर्पा लामो समयदेखि आलु खेती गर्दै आएका छन् । आलु उत्पादन राम्रै हुने हुँदा यसले जीविकोपार्जनमा समेत निकै सहयोग पुगेको छ । तर आलुको बिउ भण्डारण गर्ने उपयुक्त स्थान नभएका कारण गत वर्ष पनि परम्परागत बिउ भण्डारण गर्दा ठूलो परिमाणमा आलु कुहिएर नष्ट भयो । केही बचेका आलु बिउका लागि उपयुक्त भए तापनि अपुग हुँदा बाहिरबाटै बिउ ल्याउन उनी बाध्य भए । तर यस वर्ष भने आलुको बिउ भण्डारणका लागि आधुनिक प्रविधिको आलु भण्डारण गृह निर्माण भइसकेकाले यस्तो समस्या नदोहोरिने उनको विश्वास छ ।
बिगुटक्सारकै अर्की कृषक कुमारी कट्वालले पनि आलु बिउ भण्डारणको अभावका कारण यस्तै कठिनाई झेल्दै आएकी थिइन् । तर अहिले भने कृषकहरूको सामूहिक प्रयास र साझेदारीमा निर्माण भएको आलु भण्डारण गृहले उनलाई निकै राहतको महसुस गराएको छ । आलुको बिउ सुरक्षित हुने र भविष्यमा अझ बढी आलु उत्पादन गर्न सकिनेमा उनी ढुक्क छिन् । आलु भण्डारण घर बनिसकेकाले आफैंले उत्पादन गरेको आलु बिउका रूपमा पनि प्रयोग गर्न सकिने हुँदा निकै सहज हुने उनको भनाइ छ ।
बिगुटक्सारमा यसै आर्थिक वर्षमा झन्डै साढे १७ लाख रुपैयाँ लागतमा यो आलु भण्डारण गृह बनेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण भएको आधुनिक प्रविधिको उक्त आलु भण्डारण गृहमा परियोजना कार्यान्वयन एकाइको १५ लाख अनुदान र बाँकी लाभग्राहीको साझेदारी रहेको छ । करिब ८ टन क्षमताको उक्त भण्डारण गृहमा लामो समयसम्म आलु सुरक्षित राख्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (परियोजना कार्यान्वयन एकाइ) ओखलढुंगाका इन्जिनियर अनिश श्रेष्ठले बताए ।
हाललाई स्थानीय एउटा कृषक समूहको लागि निर्माण गरिएको यो संरचनाले आलु उत्पादनमा मात्र होइन, आर्थिक आत्मनिर्भरतातर्फ पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस्ता संरचना अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिए किसानले भोगिरहेका समस्या समाधानमा सहयोगी साबित हुने देखिन्छ ।