ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका-४ डाँडा जेरुङमा बिहीबार (आज) बिहान राँगाको आक्रमणबाट एक ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। स्थानीय बल बहादुर श्रेष्ठले बिहान करिब ९:३० बजेतिर आफ्नै घरको राँगा गोठबाट बारीमा सार्ने क्रममा राँगा उफ्रिएर नाकमा लगाएको डोरी चुँडाएको थियो।
त्यसपछि राँगाले श्रेष्ठलाई आक्रमण गरी गोरेटो बाटोभन्दा करिब ३ मिटर तल खसालिदिएको थियो। राँगाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्रहरी चौकी हर्कपुरमा दिउँसो १२:२० बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट पनि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्बिर


