• २०८२, २ माघ शुक्रबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रेमा खानेपानीकै जोहोका लागि जंगलको मुहानमा धाउन बाध्य महिलाहरू अब आफ्नै आँगनमा धारोबाट पानी भर्दै छन्। पानीकै लागि गरिएको उनीहरूको दशकौंको संघर्ष अब इतिहास बनेको छ। सिद्धिचरण नगरपालिका–५ स्थित यो बस्तीका धेरै महिलाले जीवनको ठूलो हिस्सा पानीको जोहोमै बिताए। तर, अब ‘एक घर एक धारो’ कार्यक्रमले उनीहरूको संघर्षको कथा अन्त्य गरेको छ।  

सानोचित्रे गाउँका महिलाहरूका लागि पानी केवल जीवनको आधार मात्र थिएन, संघर्षको अर्को नाम पनि थियो। सानोचित्रेकी पेमछोकी शेर्पाले आफ्नो जीवनको पाँच दशक बढी समय खानेपानीको जोहोमै बिताइन। बस्ती नजिकै पानीको कुनै पनि स्रोत नहुँदा जंगलको बीचमा रहेको एकमात्र मुहानमा जानुको विकल्प थिएन। बिहान झिसमिसे र साँझ अबेरको समयमा पनि पानी ओर्सानुपर्दा जङ्गली जनावरको त्रास समेत उत्तिकै थियो। एक घैला ९माटोको भाँडो० पानीका लागि झन्डै एक घण्टा समय खर्च हुन्थ्यो।

दैनिक तीन–चार घैला पानी बोक्दा थकाइले उनको शरीर चुरचुर हुन्थ्यो भने अन्य कामकाजका लागि समयको निकै अभाव हुन्थ्यो। तर अहिले शेर्पाको त्यो कठिन दैनिकी फेरिएको छ। दशकौँपछि आँगनमा जडान गरिएको धाराबाट स्वच्छ खानेपानी खस्दा उनको खुसीको सीमा छैन। “पहिले त पानी औसार्दैमा दिन जान्थ्यो, अरु केही काम गर्न भ्याइँदैनथ्यो,” उनले भनिन्, “तर अहिले जतिबेला पानी भरे पनि भयो, राति उठेर भरे पनि भयो, दिउँसो बिहान जतिबेला चाहिन्छ त्यतिबेला भर्न सकिन्छ।”

सोही ठाउँकी पेमल्हमु शेर्पालाई पनि बाल्यकालदेखि नै पानीका घैला बोकेरै हुर्किएको सम्झना छ। १०–१२ वर्षमै पानी बोक्न थालेकी उनलाई बाटो आफैंमा चुनौती थियो। साँघुरो, चिप्लो र कहिले घारीले गर्दा चिप्लिएर लडिने र घैला फुट्ला कि भन्ने चिन्ताले सताउने गथ्र्यो। पानी बोक्दा ढल्ने डर मात्र होइन, त्यो फुटेपछि घर पुगेर गाली खाने पीडाले झनै त्रसित बनाउँथ्यो। जीवनको आधा भाग यसरी बिताएकी पेमल्हमुलाई अहिले घर अगाडि धारामा पानी भर्न पाउँदा सपना जस्तो लागेको छ। “अहिले त कताकता सजिलो भयो नि, बिना डरत्रास पानी घरमै भर्न पाइयो,” उनले भनिन्, “धेरै सुविधा भएको छ।”

पेमछोकी र पेमल्हमु जस्तै थियो सानोचित्रेका अधिकांश महिलाको साझा कथा। तर त्यो संघर्ष इतिहास बनिसकेको छ। स्थानीय सरकारको २० प्रतिशत र दातृ निकायको ८० प्रतिशत सहलगानीमा हालै सञ्चालित सानोचित्रे खानेपानीको आयोजनाले यहाँको दैनिक जीवन नै परिवर्तन गरेको छ। स्थानीय महिलाहरूको अगुवाई र सक्रियतामा ‘एक घर एक धारो’ अभियान कार्यक्रम अन्तरगत सिंगो गाउँका ७९ घरमा खानेपानी पु¥याइएको हो। जसले गर्दा दीर्घकालीन रूपमा यहाँका नागरिकको खानेपानी समस्या समाधान भएको छ।

एक घर–घरमा खानेपानीको धारो निर्माण समितिकी अध्यक्ष मेदा शेर्पाले गाउँमा खानेपानीको समस्या भएपछि समाधानका लागि महिलाहरू नै सक्रिय भएको बताइन्। “पुरुषहरू विभिन्न कामले समय दिन पाउँदैनन्, त्यसकारण हामी आफैं अघि स¥यौँ,” उनले भनिन्, “काम गर्न निकै गाह्रो थियो, तै पनि सफल भयो, खुसी लागेको छ।”

घरघरमा पानीको धारो पुगेसँगै सानोचित्रेका महिलाको जीवनबाट न केवल भारी घैला हटेको छ, उनीहरूको समय र श्रममा पनि नयाँ उज्यालो थपिएको छ। स्थानीय सरकार र समुदायकै सहभागिता र साझा प्रयासबाट भएको यो परिवर्तनले दशकौँको पीडा अन्त्य गर्नुको साथै आँगनमै बगेको पानीले आशाको नयाँ धार बहाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!