• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । सदरमुकाममा हरेक वर्ष झैं यस वर्ष पनि सांस्कृतिक र धार्मिक महत्व बोकेको गाइजात्रा पर्व धूमधामका साथ मनाइएको छ। विशेषतः नेवार समुदायले आफ्नो परम्परागत संस्कार अनुसार यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेका छन्। यस वर्ष आज ९आइतबार० सदरमुकामका विभिन्न स्थानहरूमा नेवार गुठीहरूले गाइजात्रा जात्रा निकालेर समुदायभित्रको सांस्कृतिक एकता र भाइचारा झल्काएका छन्।

सदरमुकामस्थित रमाइलोडाँडा, भैरबटोल र रामबजार क्षेत्रका नेवार समुदायले रंगीन र सांस्कृतिक झाँकीसहित जात्रा निकालेर बजार परिक्रमा गराएका थिए। बालबालिका, युवा र वृद्धवृद्धासम्मले संस्कृतिप्रति सम्मान जनाउँदै यस जात्रामा सक्रिय सहभागिता जनाए। गाइजात्रा पर्वले नेवार समुदायलाई मात्र नभई अन्य समुदायका नागरिकहरूलाई पनि एकै ठाउँमा भेला गराएर सामाजिक मेलमिलाप र सद्भावको संदेश प्रवाह गरेको छ।

गाइजात्रा हेर्नका लागि सदरमुकाममा ग्रामीण भेगबाट समेत ठूलो संख्यामा नागरिकहरू आउने गरेका छन्। परम्परागत विश्वासअनुसार गाइजात्रा मृत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र नकारात्मक शक्तिहरूलाई परास्त गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा मनाइन्छ।

के हो गाइजात्रा ?

गाइजात्रा, जसलाई नेवार भाषामा सा पारु भनिन्छ, ‘गाईको यात्रा’ भन्ने अर्थमा प्रयोग हुन्छ। यो हिन्दू–बौद्ध सांस्कृतिक पर्व हो, जसमा परिवारका सदस्य गुमाएका घरहरूले मृतकको पुतला वा झाँकी बनाई गाईसहित बजार परिक्रमा गराउँछन्। धार्मिक विश्वासअनुसार गाई मृत आत्मालाई स्वर्गसम्म पुर्‍याउने मार्गदर्शक मानिन्छ। गाइजात्राको परम्परागत सुरुवात काठमाडौंका मल्ल राजा प्रताप मल्लको पालामा भएको मानिन्छ।

राजकुमारको मृत्युपछि रानीको गहिरो शोक कम गर्न उनले नगरभरका शोकग्रस्त परिवारलाई हास्य, व्यंग्य र झाँकीसहित ¥याली निकाल्न प्रोत्साहित गरे। जसले रानीलाई पहिलोपटक मुस्कान ल्याएको थियो। यसैबाट हास्य–व्यंग्य र सांस्कृतिक एकताको मिश्रणका रूपमा गाइजात्राको परम्परा सुरु भएको हो।

स्थानीय बासिन्दाका अनुसार गाइजात्रा केवल मृत आत्माको सम्झना मात्र नभई, आपसी मेलमिलाप, सामाजिक एकता र जीवनको स्वीकारोक्ति दिने महत्वपूर्ण सांस्कृतिक उत्सव पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!