ओखलढुंगा। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ‘पीडित पुन: भेटघाट कार्यक्रम संचालन गरेको छ । आज (बुधबार) आयोजित यस कार्यक्रममा प्रहरीले विभिन्न घटनाका पीडितहरूसँग भेटघाट गरेको हो।
अस्थायी प्रहरी पोष्ट केतुकेको टोलीले स्थानीय स्तरका पीडितहरूको व्यक्तिगत सुरक्षाको अवस्था, उनीहरूमाथि पिडक पक्षबाट पर्न सक्ने सम्भावित दबाब र प्रभावका बारेमा जानकारी लिएको थियो। पीडितहरूलाई न्यायिक प्रक्रियामा भइरहेको प्रगतिबारे जानकारी गराउनु र अपराध पीडित संरक्षण ऐन २०७५, परिच्छेद-२ बमोजिम उनीहरूले पाउने विभिन्न अधिकारबारे सचेत गराउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पीडितहरूलाई कानुन बमोजिम पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यस किसिमका कार्यक्रमले पीडितहरूलाई न्यायको अनुभूति गराउन र उनीहरूको मनोबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले बताए ।
प्रहरीको ग्रामीण गस्ती पनि सम्पन्न
यसैबीच,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र मातहतका कार्यालयहरूले ग्रामीण गस्ती पनि सञ्चालन गरेको छ।
आज (बुधबार) गरिएको यो गस्तीले जिल्ला स्थित विभिन्न स्थानका स्थानीय बासिन्दाहरूको घरदैलोमै पुगेर विपद् सम्बन्धी सचेतना र शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
यस कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय ओखलढुंगा


