• २०८२, २ माघ शुक्रबार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा भएका श्रृंखलाबद्ध हत्या तथा लुटपाट घटनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। फरक–फरक मितिमा भएका दुई जघन्य हत्या घटनामा संलग्न गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) सहितको संयुक्त टोलीले पक्राउ गरेको हो।

घटनामा संलग्न ४ जनालाई आज जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जिल्लाको चिसंखुगढी गाउँपालिका–३ दियाले बस्ने २८ वर्षीय मिलन भनिने संगम राई, वडा नम्बर ४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल तथा वडा नम्बर ८ माम्खाका ३० वर्षीय दोर्जे भनिने अशोक भुजेल रहेका छन्। प्रहरी अनुसन्धान अनुसार अभियुक्तहरूले एकान्त स्थानमा रहेका, आर्थिक अवस्था राम्रो भएका घरपरिवार, एकल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई मुख्य निशाना बनाउँदै आएका थिए। उनीहरूले घटना घटाउनु अघि लक्षित घर तथा क्षेत्रको रेकी गर्ने, आवत–जावत, बसोबासको अवस्था र सम्भावित प्रतिकारको अवस्था अध्ययन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पहिलो घटना २०८२ असोज २६ गते राति करिब १० बजे जिल्लाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा भएको थियो। एकल महिलाको रूपमा बस्दै आएकी ५२ वर्षीया रत्नकुमारी कटवालको धारिलो हतियार ९बन्चरो० प्रयोग गरी कन्चट तथा कानको भागमा प्रहार गरी निर्मम हत्या गरिएको थियो। हत्या पश्चात् नगद तथा सुनका गरगहना लुटपाट गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाको जानकारी भोलिपल्ट असोज २७ गते दिउँसो स्थानीयवासीमार्फत प्राप्त भएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको थियो।

त्यसैगरी दोस्रो घटना २०८२ पुस १५ गते राति करिब ८ बजे जिल्लाको चिसंखुगढी गाउँपालिका–६ भदौरे, गैरीगाउँमा भएको थियो। लामो समयदेखि किराना पसल सञ्चालन गर्दै आएका करिब ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको कोदालो तथा अन्य हतियार प्रयोग गरी सुतेकै अवस्थामा हत्या गरिएको थियो। हत्या पश्चात् दम्पतीको शव गोठमा लगेर स्याउलाले छोपिएको तथा पसल र कोठामा रहेको करिब १ लाख नगद र सुन तथा ६ तोला सुनका गरगहना लुटपाट गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले घटना घटाइसकेपछि शवलाई मिलाएर राख्ने तथा प्रमाण लुकाउने प्रयास गरेको पनि खुलेको छ। दुबै घटनाको प्रकृति, शैली र लुटपाटको तरिका समान देखिएकाले एउटै गिरोह संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख (डिएसपी) मदन केसीका अनुसार प्रतिवादीहरुको मुख्य उद्देश्य लुटपाट नै भए पनि, पिडितहरु नजिककै व्यक्ति भएकाले चिन्न सक्ने सम्भावना रहेकाले पीडितको ज्यान लिने गरेको पाईएको अनुसन्धानबाट खुलेको छ। यही कारण घटनाहरू अत्यन्त निर्मम र योजनाबद्ध रूपमा घटाइएको उनले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले हत्या प्रयोजनमा प्रयोग भएको बन्चरो र खुकुरी, लुटपाटपछि सुन पगालेर बनाइएको १ थान रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक तथा चार थान मोबाइल फोन बरामद गरेको छ। उक्त घटनाको थप अनुसन्धान नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!