ओखलढुंगा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुंगा जिल्लाबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जनाले आज (मंगलबार) उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी सबै विभिन्न दलबाट मैदानमा उत्रिएका हुन्। यस पटकको निर्वाचनमा प्रमुख दलका उम्मेदवारहरूमा प्रायः नयाँ अनुहारहरू देखिनु विशेष रूपमा उल्लेखनीय छ।
नेकपा एमालेबाट ३० वर्षीया अस्मिता थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनी केही दिनअघि मात्र लिखु गाउँपालिकाको उपप्रमुख पदबाट राजीनामा दिएर संघीय संसदको निर्वाचनमा होमिएकी हुन्। कम उमेरमै स्थानीय तहको नेतृत्व सम्हालेकी थापा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी ओखलढुंगाकी चर्चित युवा अनुहारका रूपमा हेरिएको छ। यस्तै नेपाली कांग्रेसबाट कुमार लुइँटेल उम्मेदवार बनेका छन्। उनी यसअघि संसदीय निर्वाचन नलडेका नयाँ अनुहार हुन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्व एआइजी विश्वराज पोखरेलले मनोनयन दर्ता गराएका छन्। सुरक्षा क्षेत्रको लामो अनुभव बोकेका पोखरेलको उम्मेदवारीले रास्वपाको उपस्थितिलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट अम्बिरबाबु गुरुङ उम्मेदवार बनेका छन्। उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्।
उज्यालो नेपाल पार्टीबाट जेन–जी अभियन्ता किशोरी कार्की उम्मेदवार बनेकी छन्। २५ वर्षीया कार्की यस निर्वाचनकी सबैभन्दा कान्छी उम्मेदवार समेत हुन्। त्यस्तै श्रम संस्कृतिबाट डा. उद्दव कुमार राई ले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। नयाँ र अनुभवी उम्मेदवारहरूको मिश्रणले यस पटकको ओखलढुंगाको निर्वाचनलाई प्रतिस्पर्धात्मक र बहुचासोयुक्त बनाउने संकेत देखिएको छ।


