ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–६ भदोरैस्थित बोहोरे टोलमा भएको वृद्ध दम्पती हत्याकाण्डमा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गत माघ १२ गते राति स्थानीय ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या गरी लुटपाट गरिएको घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अज (आईतबार) सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को सहयोगमा माघ २३ गते काठमाडौंको डल्लु क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना काठमाण्डौँमै डेरा गरी बस्दै आएका थिए । पक्राउ पर्नेमा चिसंखुगढी गाउँपालिका–६ कै स्थानीय ३४ वर्षीय धनबहादुर राणा मगर रहेका छन । अर्का एक जना १७ वर्षीय नाबालक रहेकाले कानुनी व्यवस्थाअनुसार थप विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अभियुक्तहरूले लुटपाट गर्ने उद्देश्यले काठमाडौँमै योजना बनाएको र गाउँमा पुगेर घटना घटाई पहिचान खुल्ने डरले राति नै घटनास्थल छाडेर फरार भएको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा अभियुक्तको साथबाट वृद्ध दम्पतीबाट लुटिएका सुनका गहना, नगद रकम, बहुमुल्य सामग्री (सि-माला) रिचार्ज कार्ड, मोबाइल फोन तथा हत्यामा प्रयोग भएको कोदालो समेत बरामद गरिएको छ । मृतक चन्द्रबिक्रम राईले प्रयोग गर्ने गरिएको १ थान मोबाईल भने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ पशुपती टोल स्थित प्रतिबादीको आफन्तको डेराकोठाबाट बरामद गरिएको प्रहरी जनाएको छ ।
पक्राउ परेका उनिहरु माथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) तथा डाँका चोरी शीर्षकमा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्ति ढिलोचाँडो कानुनी दायरामा आउने स्पष्ट गर्दै स्थानीयलाई त्रसित नहुन र शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।


