ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–६ भदारेमा एकै महिनाको अवधिमा दुई दम्पतीको श्रृङ्खलाबद्ध रूपमा भएको जघन्य हत्याको विरोधमा स्थानीयवासीले मौन विरोध तथा ध्यानाकर्षण र्याली निकालेका छन् । करिब १५० जनाको सहभागितामा सदरमुकाममा निकालिएको र्यालीमा सहभागीहरूले टाउकोमा कालो पट्टी बाँधेका थिए भने मुखमा कालो मास्क लगाएर शोक र आक्रोश प्रकट गरेका थिए ।
र्याली सिद्धिचरण नगरपालिका–११ स्थित मिलनचोकबाट सुरु भई सदरमुकाम बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर टुंगिएको थियो । सो क्रममा सहभागीहरूले जिल्लास्थित राजनीतिक दल, जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, दोषी पहिचान र कडा कारबाहीको माग गरेका छन् । र्यालीमा चिसंखुगढी गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, अन्य स्थानीय तहका वडा प्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
स्थानीयवासीले पटक–पटक गम्भीर आपराधिक घटना भइरहँदा पनि शान्ति सुरक्षा सुदृढ हुन नसकेको गुनासो गर्दै पाँच बुँदे माग अघि सारेका छन् । उनीहरूले भदोरै नजिकै रहेको प्रहरी चौकीलाई इलाका प्रहरी चौकीको रूपमा स्तरोन्नति गरी २४ सै घण्टा सुरक्षा जनशक्ति परिचालन गर्नुपर्ने माग गरेका छन् । साथै, सम्बन्धित वडामा स्थायी प्रहरी पोस्ट तथा सशस्त्र प्रहरी पोस्ट स्थापना गरी आवश्यक जनशक्ति परिचालनमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।
यसैगरी सीमावर्ती क्षेत्रलाई मध्यनजर गर्दै चिसंखुगढी गाउँपालिका–८ को कालिबेली/रिपा क्षेत्रमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीको चेक पोस्ट व्यवस्था गर्नुपर्ने, जघन्य अपराधमा संलग्न अपराधीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने तथा यस्ता घटनाले समाजमा पारेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै आवश्यक परे कानुनी व्यवस्था परिमार्जन गरी कडा सजायको व्यवस्था गर्न माग गरिएको छ ।
लगातार भएका हत्याका घटनाले समुदायमा त्रास र असुरक्षा बढेको भन्दै सहभागीहरूले शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा संयन्त्र थप सक्रिय हुनुपर्ने र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन ।


