ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाभरिका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको र समग्रमा ५९ हजार ७९ मत खसेको छ। जस्मा २८ हजार ८१३ महिला, ३० हजार २६५ पुरुष र १ जना अन्य मतदाता रहेका छन्। प्रतिशतको आधारमा ४८.१४ प्रतिशत रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो। केही स्थानमा बिहानको समयमा मतदाताको लामो लाइन समेत देखिएको थियो भने दिउँसोपछि पनि मतदाताको उपस्थिति उल्लेख्य रहेको थियो। जिल्लाका सबै पालिकामा सुरक्षाकर्मीको कडा व्यवस्थापनका बीच कुनै ठूला अप्रिय घटना बिना मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ।
जिल्लामा कुल मतदाता संख्या १ लाख २२ हजार ७१५ रहेको छ। यस पटकको निर्वाचनमा ओखलढुंगामा मतदाताको सहभागिता सन्तोषजनक रहेको बताइएको छ।
मतगणना भोलिबाट मात्रै हुने
मतदान कार्य सम्पन्न भए संगै मतपेटिका हरु मतगणना स्थलमा आउने क्रम जारी छ । सदरमुकाम नजिकको कतिपय मतदान स्थलहरुबाट मत मतपेटिका आइसकेका छन भने आउने क्रम जारी छ। तर जिल्लाको लिखु, खिजिदेम्बा गाउँपालिका लगायतका क्षेत्रबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले आज मतगणना नहुने बताइएको छ ।
सबै क्षेत्रका मतपेटिका आइपुग्न भोलि बिहानसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ । यदि त्यसो भएमा भोलि (शुक्रबार) बिहान ११ बजेदेखि मतगणना सुरु हुन सक्ने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए ।
मतगणना सिद्धिचरण नगरपालिका–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने जनाइएको छ।


