ओखलढुङ्गा । नेपालमा यस बर्षको मनसुन जेठ महिनाको अन्तिम हप्ताको मंगलबारबाट प्रबेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन भित्रन सुरुवात भएसँगै परेको पानीले ओखलढुङ्गामा एकघर भत्काएको छ ।
बुधबार बेलुकी परेको भिषण पानीले जिल्ला सदरमुकाम रहेको सिद्धिचरण नगरपालिका वडा नं। ११ मा एक घर भत्किएको छ । बुधबार बेलुकी परेको पानीले सिद्धिचरण नगरपालिका ११ रामबजारका सानुराम श्रेष्ठको टीनको छाना तथा बेरा भएको दुईतले घर भत्किएको छ । बुधबार साँझ परेको अबिरल वर्षातका कारण घरमुनीवाट पहिरोजादा घर भत्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।
उक्त घरमा घरधनीहरु नबसेपनि मोलुङ गाउँपालिका ४ हर्कपुरका लक्ष्मी तामाङले खाजा पसल गरि बस्ने गरेका थिए । तामाङले उक्त घरमा खाजा पसल गर्नुका साथै पाँच जना बच्चाहरुलाई लिएर डेरा बस्ने गरेका थिए । पहिरोको कारण घर र सामानको क्षति भएपनि अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घर भत्कदा ५ लाख बराबरको क्षति भएको पनि प्रहरीले जनाएको छ ।