नुनले स्वाद मात्र होइन, शरीरलाई स्वस्थ राख्न पनि महत्वपुर्ण छ । नुनमा सोडियम हुन्छ । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ । साथै यसले कोषिकाहरुमा पोषक तत्व अवशेषित गर्न पनि मद्दत गर्छ । कोषिकालाई सक्रिय राख्न मात्र नभई मस्तिष्क, मेरुदण्ड र मांसपेशीको लागि नुन जरुरी हुन्छ ।
नुनमा कुन पोषकतत्व हुन्छ ?
नुन एक प्रकारको रासायनिक तत्व हो । यसमा केही सूक्ष्म तत्वहरु हुन्छन् । नुनमा मूख्यत सोडियम, कोलोराइड हुन्छ ।यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, स्नायुतन्त्र, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ ।
‘नुनको कमीले ज्यान लिन्छ’
अमेरिकाको रटगर्स यूनिभर्सिटीका न्यूट्रिशनल साइन्सेसका प्रोफेसर पल ब्रेसलिनका अनुसार नुनबाट पाइने सोडियमको कमीले मृत्युको मुखमा धकेल्छ ।
उनी भन्छन्, ‘पर्याप्त मात्रामा सोडियम शरीरमा पुगेन भने हाम्रो मृत्यु पनि हुनसक्छ । सोडियमको कमीले हेपोनेट्रेमिया हुन सक्छ । जसकारण भ्रम, उल्टी, चिडचिडापन र कोमामा जानेसम्मको गम्भीर अवस्था आउन सक्छ ।’ अष्ट्रेलियाको न्युक्यासल युनिभर्सिटीका पोषण र आहारविज्ञानका प्राध्यापक क्लेयर कोलिन्स भन्छिन्, ‘जब शरीरमा धेरै नुन हुन्छ, शरीरले सबैभन्दा पहिले यसलाई पातलो पारेर पानीलाई यथावत राख्छ । सो तरल पदार्थलाई चौतर्फी पम्प गर्नको लागि रक्तचाप बढाउँछ ।’
फलस्वरुप रक्त कोषिका कमजोर हुने र मस्तिष्कको नसा कमजोर भइ फुटेर मस्तिष्कघात समेत हुन सक्ने उनी बताउँछिन् ।
स्वास्थ्यबारे सचेत हुँदै बेलायतले नुनको खपत घटाएर औसत प्रति दिन लगभग आठ ग्राममा झरेको छ । खाद्य उत्पादकहरूलाई नुन स्तर घटाउन बाध्य पार्ने नियमहरूले यो कटौतीलाई मद्दत गरेको थियो ।
विभिन्न देशहरूमा नुन खपतको निर्धारित मात्रा फरक हुन्छ ।
पिसाब परीक्षणले पनि शरीरमा नुन धेरै छ वा कम छ भनेर पत्ता लगाउन सक्छ ।
नुन सेवनको अनुमान लगाउन मद्दत गर्न खानाको लेबलमा देखाइएको सोडियम सामग्री गणना गर्ने एप प्रयोग गर्न सकिन्छ ।
शरीरमा नुनको मात्रा पत्ता लगाउने कुनै एक विशेष रूपमा सही विधि छैन, तर प्रत्येक विधि एक उपयोगी सूचक हुन सक्छ ।
नुन कम गर्ने उपाय
खानामा नुनको मात्रा घटाउन सजिलो छैन । तर, दिनहुँ खानामा थोरै थोरै कम गर्दै जाँदा स्वादमा त्यति फरकपन आउँदैन ।
त्यस्तै, प्रशोधित खानेकुरामा अत्याधिक नुन राखिएको हुन्छ । ती खानेकुरा सकेसम्म नखानु वा कम खानु उचित हुन्छ ।
नुनले दिने पोषणका लागि प्राकृतिक खानेकुराबाट नै प्राप्त हुने भएकाले नुनको धेरै प्रयोग गर्नु आवश्यक देखिंदैन ।
यसको नियन्त्रणका लागि एउटा तरकारीमा आवश्यक नुन राख्ने र अर्कोमा कम वा राख्दै नराख्ने गर्न सकिन्छ ।
नुन खाँदा सकेसम्म हिमाली क्षेत्रमा बनेको खानुपर्छ, जसलाई बीरेनुन, सीधेनुन भनिन्छ । यस्ता नुन खाने बानी गर्दा शरीरलाई फाइदा पुग्छ ।
साभार : अनलाइनखबर डटकम