ओखलढुंगा । जिल्लाका धेरैजसो ग्रामिण क्षेत्रमा अझै पनि खानेपानीको चरम अभाव छ । आसपासमा खानेपानीको प्रशस्त मुहान नहुनु र भएका पनि सुक्दै जाँदा सर्वसाधरणले घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने बाध्यता रहेको छ । विशेष गरी जिल्लाको सुख्खा क्षेत्रमा त हिँउद लागेपछि खानेपानी पाउनै मुस्किल छ । वर्षातको समयमा आसपासमा मुल फुट्दा सहज हुने गरेको भएपनि सुख्खा समयमा भने सर्वसाधरणलाई खानेपानी पाउन निकै कठिन छ ।
जिल्लाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विशेषत सुख्खाग्रस्त क्षेत्र हो । वर्षातको समयमा यहाँ आसपासको कुवा पँधेरोमा मुल फुट्ने हुँदा खानेपानीको खासै समस्या हुँदैन । तर सुख्खायाम सुरु भएपछि आसपासका पानीको मुहान सुक्ने हुँदा यहाँका सर्वसाधरणको निन्द्रा हराउने गर्छ । दशकौँ देखी यहाँका नागरिकले एक गाग्री खानेपानीको जोहो गर्न निकै कष्ट भोग्दै आएका छन ।
हिँउदको समयमा एक गाग्रो खानेपानीका लागि डेढ देखी साँढे २ घण्टाको समय खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीय डम्बरकुमारी रानामगरले बताईन । घरभन्दा निकै तलदेखी दैनिक ३ पटकसम्म पानी ओर्सानुपर्ने उनको भनाई छ । भदौरेको माथिल्लो भेग विशेष गरि मन्सीटोल, रानाटोल, गौरुङटोल, मुखियाटोल लगायतका क्षेत्रका बासिन्दाले खानेपानीको चरम समस्या झेलिरहेका छन । पानीको जोहो गर्न यहाँका बालबालिका समेत डोकोमा गाग्रो बोकेर हिँड्ने गरेको देखिन्छ ।
यसै वर्षबाट यस क्षेत्रमा सिंचाई र गाईबस्तुका लागि पाष्टिक पोखरी बनाएर बर्षातको पानी जम्मा गर्ने गरिएको छ । तर दैनिक रुपमा उपभोग हुने खानेपानीका लागि भने नागरिकलाई निकै समस्या हुने गर्छ । नजिकै नियमित रुपमा आउने खानेपानीको मुहान नभएकाले स्थानीयले बर्षौँदेखी समस्या भोग्दै आएको अर्का स्थानीय बिहुरमान आलेमगरले बताए ।
यो क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि स्थानीय सरकारले पनि चासो नदेखाएको पनि होईन । तर नजिकै पानीको दिर्घकालिन स्रोत नहुँदा खानेपानीको योजना अघि बढाउन सकिएको छैन । चिसंखुगढी गाउँपालिका ६ का वडा अध्यक्ष बलराम कट्वालले भदौरेमा खानेपानीका लागि झन्डै २१ करोडको योजना स्वीकृत भैसकेको बताए । चिसंखुगढी कै वडा नम्बर ७ को छिपछिपे मुहानबाट पाईपलाईन मार्फत भदौरेको प्रत्येक घरमा स्वच्छ खानेपानी बिस्तारको काम भैरहेको उनको भनाई छ । अबको बढीमा २ वर्षभित्र भदौरेको हरेक घरमा खानेपानी आउने अपेक्षा गरिएको कट्वालले बताए ।
सरकारले खानेपानीको क्षेत्रमा लगानी गरे पनि आयोजनाहरु निर्माण र व्यवस्थापन गर्न नसकेका कारण अझै पनि सर्वसाधरणले खानेपानीको आधारभुत सेवा पाएका छैनन् । अर्को तर्फ जथाभावी स्काभेटर, डोजर प्रयोग गरेर सडक बनाईँदा पानीको मुहान सुक्दै जाने गरेका छन । त्यसकारण भएका खानेपानीका स्रोतलाई समयमै उचित संरक्षण गर्नुको विकल्प छैन ।