ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । प्रहरीले चालु आर्थिक वर्षमा ५९ फरार प्रतिवादी पक्राउ गर्ने लक्ष्य लिएको थियो । तर चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधीमै कार्यालयले वार्षिक लक्ष्य अनुशार उपलब्धी हासिल गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आज (शुक्रबार) पत्रकार भेटघाट गर्दै जिल्ला प्रहरी प्रमुख डियस्पी कृष्ण खड्काले चालु आर्थिक वर्षको हालसम्मको अवधीमा ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा पेश गरिएको जानकारी दिए । प्रतिवादीहरु जिल्लाका विभिन्न स्थान र काठमाण्डौबाट समेत पक्राउ गरिएको उनको भनाई छ ।
डिएस्पी खड्काका अनुशार पक्राउ परेका फरार प्रतिवादीहरुमा गाली बेईज्जती मुद्धाका ६, कुटपिट ५, बालयौन दुरुपयोग २, अभद्र ब्यवहार २२, हाडनाता करणी १, चोरी २, कर्तब्य ज्यान २, सार्वजनिक अपराध २ र बाली लुटपाट मुद्धाका ४ जना छन ।
त्यसैगरी सवारी ज्यान २, कुटपिट लुटपाट २, लुटपाट २, जबरजस्ती करणी उद्योग १, लिखित बदर १, बैकिङ कसुर १, लिखित बेईज्जती १, नक्कली प्रमाणपत्र (भष्ट्राचार) १, बनपैदावार हानी नोक्सानी १ र बहुविबाह १ गरि १९ कसुरका ६० जना फरार प्रतिवादीहरु पक्राउ गरिएको खड्काले बताए ।
पक्राउ परेका सबै फरार प्रतिवादीहरुबाट जम्मा ४७ वर्ष ४ महिना ७ दिन कैद सजाय र ८ लाख ९५ हजार ७ सय ६६ रुपैयाँ ३३ पैसा जरिवाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
साङ्केतिक तस्विर