ओखलढुंगा । ट्रक दुर्घटनामा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ । गत २०८१ चैत्र ३० गते राती करिब ११:४० बजेतिर जिल्लाको मानेभञ्जयाङ गाउपालिका ६ हिलेपानी स्थित सिद्विचरण लोकमार्गमा मिर्चैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ७ ख ५९८४ नम्बरको ट्रिपर अनियन्त्रित भई सडक भन्दा अ.२० मिटर तल झरि दुर्घटना भएको थियो ।
उक्त दुर्घटना मा ट्रिपर चालक जि.उदयपुर कटारी न.पा.-४ बस्ने बर्ष-२३ को अम्बर राउतको टाउकोमा चोट र सहचालक ऐ.ऐ.-४ बस्ने अ. बर्ष-१९ को आशिस पुलामी मगरको टाउको, कम्मर र शरिरको बिभिन्न भागमा चोट लागेको थियो ।
दुबै जना घाईतेहरुलाई उपचारको लागि जनसेवा पोलिक्लनिक घुर्मि उदयपुर तर्फ पठाएकोमा चालक उपचार पश्चात डिश्चार्ज भएकाे र उक्त ट्रिपरको सहचालक वर्ष १९ को आषिश पुलामी मगरलाइ बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा थप उपचारको लागि लगिएकाे थियो ।
त्यहा उपचारको क्रममा आज (सोमबार) बिहान ५ बजे मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय कटारीकाे सहयोगमा नियन्त्रणमा लिई आवस्यक कानुनी प्रकृया शुरु भएकाे प्रहरीले जनाएको छ ।
यसैबिच आज (सोमबार) बिहान करिब ११: ३० बजेतिर जिल्लाको खिजिदेम्बा गाउँपालिका – ५ पात्लेखर्क स्थित लिखु भुसिङगा सडकखण्डमा खिजिफलाटेबाट चुप्लुभञ्ज्याङ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०१८ प ०६६९ नं.को मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको प्र.३-०२-०१४ प ३५५२ नं. को मोटरसाइकल एक आपसमा ठककर खाई दुर्घटना भएको छ ।
दुर्घटनामा बागमति प्रदेश ०२-०१८ प ०६६९ नं.को मोटरसाइकलमा पछाडी सवार धनुषाको जनक नन्दनी गा.पा. ४ खजुरी घर भइ हाल खिजिदेम्बा आधारभुत अस्पताल खिजि फलाँटेमा कार्यरत हेल्थ असिस्टेन्ट २२ वर्षिया रबिना कुमारी मण्डलको दाहिने खुट्टामा चोट लगेको प्रहरीले जनाएको छ ।
उनको खिजिदेम्बा आधारभुत अस्पताल खिजिफलाटेमा उपचार भइरहेको छ । दुबै मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खिजिफलाटेमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।