ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभिरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। सोलुखुम्बु नेचासल्यान गाउँपालिका–४ निवासी अन्दाजी ३० वर्षीय चन्द्र राई शनिबार राति खोटाङको दिक्तेल जाँदै गर्दा आफन्तको घरमा बास बसेका थिए।
चिशंखुगढीस्थित फुपु चन्द्रमाया राईको घरमा सुतिरहेका बेला राति करिब १० बजे मेघ गर्जन र बिजुली चम्किएपछि विद्युत् लाइनको (एमसिपी) झार्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी खानिभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
साङ्केतिक तस्बिर


